
राष्ट्रिय मानव अधिकार आयोगले जिल्लास्तरीय मानव अधिकार अवस्था अनुगमन समिति मकवानपुरका अध्यक्ष डा. कृष्णप्रसाद धिताल चढेको गाडी दुर्घटनामा परी भएको २ जनाको निधनप्रति दुःख व्यक्त गरेको छ ।
सचिव वेदप्रसाद भट्टराईले मंगलवार जारी गरेको प्रेस विज्ञप्तिमा अनुगमनका क्रममा नारायणगढ–मुग्लिनखण्डमा यही असार १५ गते भएको सवारी दुर्घटनामा उनकी धर्मपत्नी प्रभा गौतम तथा छोरा अनुज धितालको दुःखद् निधनप्रति गहिरो दुःख व्यक्त गरिएको छ ।
आयोगले दुःखद् घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दैै सवारी दुर्घटनामा परी घाइते भएका डा. धिताल, निजकी छोरी वर्षा धिताल र सवारी चालक राजन घिमिरेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
डा. धितालले कोभिड–१९ को सन्दर्भमा मकवानपुर जिल्लाको मानव अधिकार अवस्थाको प्रभावकारी अनुगमन गरी पुर्याएको योगदान तथा २०७२ सालको विनाशकारी भूकम्पबाट उत्पन्न परिस्थितिमा आयोगद्वारा गठित जिल्लास्तरीय मानव अधिकार अनुगमन मोबाइल क्याम्पको समेत संयोजकको रुपमा रही आयोगलाई पुर्याएको सहयोगको पनि आयोगले स्मरण गरेको छ ।