
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको बुधवार बसेको बैठकमा बोल्ने ५ जना सदस्यमध्ये ४ जनाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् ।
बुधवारको बैठकमा स्थायी कमिटी सदस्य लीलामणि पोखरेल र मातृका यादवले खुलेरै ओलीको राजीनामा माग गरेका थिए ।
नन्दकुमार प्रसाइँ र पेशल खतिवडाले भने सरकरको आलोचना गर्दै घुमाउरो पारामा राजीनामा मागेका थिए ।
स्रोतका अनुसार बुधवारको बैठकमा बोलेका स्थायी कमिटी सदस्य एवं संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले भने प्रधानमन्त्रीको राजीनामा मागेनन् ।
बरु उनले प्रधानमन्त्रीसहित पार्टी सचिवालय सदस्यहरूको आलोचना गर्दै सच्चिएर आउन सुझाव दिए ।
बिहान मात्र प्रधानमन्त्रीसँग छलफल गरेका भट्टराईले कुनैपनि हालतमा पार्टी एकतालाई बचाउन तथा अन्तरविरोधको समाधानका लागि पहल गर्नुपर्ने बताएका थिए ।
यादवले ओलीले पार्टीको छवी बिगारेको समेत आरोप लगाए ।
यसअघि मंगलवारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र नारायणकाजी श्रेष्ठ लगायत १७ जनाले ओलीको राजीनामा माग गरेका थिए ।
नेपाली कांग्रेसकी बहालवाला सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा संसद्मा शोक प्रस्ताव पारित गर्न जानुपर्ने भएकाले आजको बैठक छोटो समयमा टुंगिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । स्थायी कमिटीको बैठक बिहीवार बिहान पुनः बस्नेछ ।