
पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई अनशनरत युवाहरुको स्वास्थ्य अवस्था बुझ्न बुधबार पाटन दरबार क्षेत्रस्थित कृष्ण मन्दिर पुगेका छन्।
जनता समाजवादी पार्टीका वरिष्ठ नेता भट्टराईले अनशनरत युवाहरुका मागप्रति ऐक्यबद्धता जनाएका हुन्।
कोरोना भाइरस रोकथामका लागि सरकारले लागू गरेका मापदण्डको प्रभावकारी पालना गर्न माग गर्दै युवाहरु अनशनमा छन्।
कोभिड–१९ रोकथामका लागि सरकारबाट भएका कार्यहरु प्रभावकारी हुन नसकेको उनीहरुको ठहर छ।

राष्ट्रिय मानवअधिकार आयोगका अनुसार अनशनरत सुजान गुरुङ्ग र सुवानी सिजापतीलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लागिएको छ भने अर्का एक व्यक्ति ६ दिनदेखि आमरण अनसनमा छन्। रिजा राउत, पुकार बम, गम्भीरजङ्ग कार्की र सुनिता तामाङ रिले अनसनमा रहेको जनाइएको छ।
राष्ट्रिय मानव अधिकार आयोगले बुधबार नै विज्ञप्ति जारी गरेर अनशनरत युवाहरुको स्वास्थ्यसम्बन्धी न्यायोचित माग सम्बोधन गरी जीवनको अधिकार रक्षा गर्न तथा सार्थक संवादद्वारा समस्याको समाधान गर्न सरकारलाई आग्रह गरिसकेको छ।
