
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एउटा समूहले पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कमजोर बनाएरै लैजाने रणनीति अबलम्बन गरेको छ।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको बुधबार साँझ ललितपुरको झम्सीखेलमा बसेको बैठकले ‘परिस्थिति जटिल बन्दै गएको निष्कर्षसहित ओलीलाई कमजोर बनाएरै लैजाने' रणनीति लिएको हो।
नेकपाको आन्तरिक किचलो छताछुल्ल भएका बेला अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता खनाल, नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, सचिवालय सदस्य एवम् गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र प्रचण्ड-नेपाल समूहका केही स्थायी समिति सदस्यबीच छलफल भएको थियो।
छलफलले भोलि बिहीबार बस्ने स्थायी कमिटी बैठकको रणनीति तय गरेको हो। प्रधानमन्त्री ओलीले बुधबार बिहान मात्रै बालुवाटारमा आफ्नो समूहको भेला गराएपछि प्रचण्ड नेपाल-समूह सक्रिय बनेको हो।
स्थायी कमिटी बैठकमा नेताहरुले प्रधानमन्त्री ओलीको राजीनामा मागिसकेका छन्। भोलिको स्थायी कमिटीमा ओली कुन ढंगले प्रस्तुत हुन्छन् ? भनेर ध्यान केन्द्रीत भएका बेला प्रचण्ड-नेपाल समूहले पनि रणनीति लिएको हो।
हुन् त ओलीको राजीनामाको माग यसअघि सचिवालय बैठकमा पनि उठेको थियो। तर, ओलीले आत्मालोचना गरेर अघि बढ्ने बताएपछि विवाद साम्य भएको थियो।
तर, केही दिन अघि ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाउन पार्टीकै नेताहरु समेत लागेकाे औपचारिक अभिव्यक्ति दिएपछि उनी चर्काे विवादमा परे।
मंगलबारको स्थायी कमिटी बैठकमा प्रचण्डले आफूले राजीनामा मागेको बताएका थिए, भने अन्य स्थायी कमिटी सदस्यहरुले पनि ओलीको राजीनामा माग गरेपछि उनी अफ्ठेरोमा परेका हुन्।
बुधबार पनि सचिवालय बैठक बसेको थियो। तर, केही सदस्यहरुले धारणा राखेपछि बिहीबारका लागि स्थगित भएको छ।