
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका कर्णाली प्रदेश सहइन्चार्ज एवम प्रदेश सभा सदस्य यामलाल कंडेलले प्रदेश सरकार आफ्ना कर्मचारी कमाउ धन्दामा लागेको बेलामा मुखदर्शक बनेको बताएका छन् ।
विहीबार सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले आफू नेकपाको सदस्य भएपनि दुःखका साथ यस्तो कुरा भन्नु परेको बताएका हुन । उनले प्रदेश सरकारका कार्यालयहरु आर्थिक वर्षको अन्त्यमा असुल उपर गर्ने निकायको रुपमा परिणत भइरहेको आरोप लगाएका छन् ।
उनले लेखेका छन्, ‘कर्णाली प्रदेशमा नेकपाको सरकार छ । म पनि नेकपा कै प्रदेशसभाको सदस्य हुदा हुदै पनि दुःखका साथ भन्नू पर्ने भयो कर्णाली प्रदेश सरकारका कार्यलयहरू आर्थिक बर्षको अन्तमा असुल उपर गर्ने निकायको रूपमा परिणत हुदै छन । उदाहरणको रूपमा दैलेखको खानेपानी तथा सिचाइ कार्यलयका कार्यलय सहायक बाहेक सबै अख्तियार को नियन्त्रणमा । प्रदेश सरकार मुखदर्शक ।’
उपभोक्ता समितिसँग पैसाको बार्गेनिङ गर्ने खानेपानीको इन्जिनियरसहित तीन कर्मचारी अख्तियारद्धारा पक्राउ परेका थिए ।
आर्थिक बर्ष सकिनै लाग्दा दैलेखमा योजनाको भुक्तानीमा कर्मचारीले योजनाको अनुगमन नगरी कार्यालयबाटै काम गर्ने र उपभोक्ता समितिबाट कमिसन खान लाग्दा मङ्गलवार उनीहरूलाई अख्तियार अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिएको टोलीले पक्राउ गरेको थियो । खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय दैलेखका कार्यालय इन्चार्ज इन्जिनियर तपेन्द्र सुन्दर मल्लसहित तीन जना कर्मचारी पक्राउ परेका थिए ।