०३ असार २०८३, बुधबार

कोरोना परीक्षण घटाइँदै तर जोखिम झन् बढ्दै

असार २४, २०७७
कोरोना परीक्षण घटाइँदै तर जोखिम झन् बढ्दै

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणका लागि आधिकारिक मानिएको आरटी–पीसीआर परीक्षणको दायरा घटाएसँगै संक्रमितको संख्या पनि कम देखिएको छ ।

पछिल्लो १ हप्तामा दैनिक ४ हजार ७७७ जनाको पीसीआर परीक्षण गरिँदै आएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले गत १५ असारदेखि दैनिक १० हजार जनाको कोरोना परीक्षण गरिने प्रतिबद्धता जनाएकामा त्यसविपरीत परीक्षणको दर भने दिन प्रतिदिन घट्दै गएको छ । 

गत बुधवार ४ हजार ८०६, बिहीवार ४ हजार ५३७, शुक्रवार ४ हजार ४८३, शनिवार ४ हजार ५० जनाको कोरोना परीक्षण गरिएको थियो ।

गत आइतवार ४ हजार ७१०, सोमबार ४ हजार ७२१ र मंगलवार ६ हजार १३३ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो १५ दिनको अवधिमा ६ हजार ६९ जनामा कोरोना पोजेटिभ देखिएको छ । गत ९ असारमा १० हजार ९९ जनामा कोरोना पोजेटिभ देखिएकामा मंगलवार संक्रमितको संख्या १६ हजार १६८ पुगेको हो ।

मुख्यतः लकडाउन खुकुलो हुनु, पीसीआर परीक्षण नै नभई रेस्क्यु फ्लाइटमार्फत विभिन्न देशबाट नेपाल भित्रिनु लगायतका कारण पनि जोखिम बढेको हो । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेका अनुसार संक्रमितमध्ये ९९ प्रतिशत लक्षणविहीन छन् । उनले भने, ‘केही नागरिक विदेशबाट रेस्क्यु फ्लाइटमार्फत आउँदा पीसीआर टेस्ट नै नगरी आउने गरेको पाइयो । लकडाउन खुकुलो हुँदै जाँदा पनि जोखिम बढेको हो ।’

काठमाडौं उपत्यका कोरोनाको हटस्पट बन्ने खतरा बढेको विज्ञहरूको भनाइ छ । संक्रमण देखिएका जिल्लाबाट विभिन्न भित्री बाटो हुँदै हजारौं नागरिक काठमाडौं भित्रिँदै आएका छन् । उनीहरूलाई क्वारेन्टीनमा नराखिँदा जोखिम झन् बढेको जनस्वास्थ्य विज्ञहरू बताउँछन् ।

जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले विदेशबाट चार्टर फ्लाइटमा आइरहेका व्यक्तिलाई अनिवार्य क्वारेन्टीनमा नराखिँदा उनीहरू घरमा पुगेपछि परीक्षण गर्दा संक्रमण देखिने गरेको बताए । उनले भने, ‘काठमाडौं उपत्यकामा एकदम न्यून मात्रामा कोरोना परीक्षण गरिएको छ । जति धेरै परीक्षणको दायरा बढायो, त्यति धेरै संक्रमितको पहिचान हुन्छ ।’

काठमाडौं उपत्यकामा मंगलवार थप २८ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा थप २८ जनामा कोरोना संक्रमण देखिएको बताए ।

मंगलवार मात्रै काठमाडौंमा १४, ललितपुरमा १० र भक्तपुरमा ४ जनालाई संक्रमण देखिएको छ । यससँगै हालसम्म काठमाडौंमा १७४ जना, ललितपुरमा ४९ र भक्तपुरमा ४३ जनामा संक्रमण देखिएको छ । उपत्यकाका ३ जिल्लामा हालसम्म २६६ जनामा कोरोना संक्रमण देखिएको छ । राजधानी दैनिकमा खबर छ ।

मंगलवार देशभर थप २०४ जना संक्रमित थपिएका छन् । संक्रमितमध्ये ८ हजार ६३४ जना आइसोलेसनमा छन् । २५ हजार ७२७ जना क्वारेन्टीनमा बस्दै आएका छन् । हालसम्म २ लाख ६१ हजार ८६१ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म संक्रमितमध्ये ७ हजार ४९९ जना डिस्चार्ज भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्