
काठमाडौँ उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेपछि ललितपुरमा रहेको महालक्ष्मी नगरपालिकाले विभिन्न वडामा फेरि पूर्ण लकडाउन कायम गरेको छ।लकडाउन बिहीबार बिहान ५ बजेदेखि अर्काे सूचना जारी नहुन्जेलसम्मका लागि लागू हुनेछ ।
सरकारले असार १ गतेदेखि लकडाउन खुकुलो बनाए पनि संक्रमित बढ्न थालेपछि नगरपालिकाले सूचना जारी गर्दै थप संक्रमण फैलिन नदिन वडा नम्वर ७, ८ र ९ मा कडाइका साथ लकडाउन लागू हुने घोषणा गरेको हो।
ती वडाभित्र रहेका औषधि र खाद्यान्न पसलबाहेकका सम्पूर्ण उद्योग व्यवसाय बन्द गर्न भनिएको छ। खाद्यान्न पसल पनि बिहान ७ देखि ९ बजेसम्म मात्र सञ्चालन गर्न सूचनामा उल्लेख गरिएको छ।
औषधि पसल र क्लिनिक भने २४ घन्टा सञ्चालन गर्न पाइनेछ।
सरकारी तथा गैरसरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने अत्यन्त जरुरी सेवा बाहेकका सबै सेवा बन्द गरिने सूचनामा उल्लेख छ।
नगरपालिकाले अति आवश्यक कार्यमा बाहेक घर बाहिर ननिस्कन, निस्किनु परे अनिवार्यरुपमा मास्क लगाउन पनि भनेको छ।