
यातायात व्यवसायीले सरकारसँग विभिन्न माग राखेर सेवा सञ्चालन नगरेपनि मयूर यातायात प्रालिले भने बस सेवा शुरू गरेको छ ।
आजदेखि तीनवटा बसबाट सेवा शुरू गरिएको प्रालिले जनाएको छ ।
कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ देखि सार्वजनिक यातायात बन्द गरेकामा गत बुधवार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक यातायात खुलाउने निर्णय गरेको थियो ।
सरकारले बिहीवारदेखि सार्वजनिक यातायात खुलाउने भनेको पाँच दिनपछि प्रालिले बस चलाउन थालेको हो ।
यो बीचमा बसको मर्मतलगायतको काम भइरहेको प्रालिका सञ्चालक दीपक भण्डारीले बताए ।
पहिलो दिनमा काठमाडौं–बनेपा र चक्रपथ रूटमा बस चलेको छ ।
उनका अनुसार प्रालिले आगामी दिनमा अरू बस थप्ने समेत योजना बनाएको छ । उनले भने, “मंगलबार र बुधबारदेखि नै अरु बस थप्दै जानेछौं ।'
बन्दाबन्दीमा बस सञ्चालन नहुँदा व्यवसायी मारमा परेको भन्दै सहुलियतका लागि सार्वजनिक यातायात व्यवसायी राष्ट्रिय महासङ्घले गरेको मागमा सो प्रालिले पनि समर्थन गरेको जनाएको छ । रासस