
गृहमन्त्री रामबहादुर थापाले भारतले दुई मुलुकबीचको सन्धि–सम्झौता उल्लंघन गर्दा सीमा क्षेत्रका नेपाली भूमि डुबानमा परेको बताएका छन् । सीमामा समानान्तर संरचना बनाई नेपालबाट जाने नदीलाई छेकेर निकास रोकेको भन्दै उनले भारतले आन्तरिक मामिलामा हस्तक्षेप गरेको बताए ।
राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार सिंहदरबारमा भएको बैठकमा थापाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पछिल्लो नेपाल भ्रमणका क्रममा तराईमा भएको डुबानको सन्दर्भमा कुराकानी भए पनि कार्यान्वयन नभएको बताए ।
सांसदहरूले भारतले सीमामा एकतर्फी रूपमा बनाएको संरचनाले नेपाली भूभाग डुबानमा पर्ने गरेको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए । सांसदहरूले भारतसँग कूटनीतिक वार्ता नगर्ने हो भने भविष्यमा डुबान समस्या झन् विकराल बन्ने बताएका थिए ।
यसको जवाफ दिने क्रममा गृहमन्त्री थापाले भारतले सन्धि–सम्झौता नमान्ने गरेको बताएका हुन् । कोसी बाँध मर्मतको जिम्मेवारी भारतीय पक्षको भए पनि कार्यान्वयन नभएको उनको भनाइ थियो ।
यसैबीच, समितिले भारतले एकलौटी रूपमा सीमा क्षेत्रमा बनाएका बाँध, तटबन्ध र सडक हटाएर डुबान कम गर्ने उपाय खोज्न सरकारलाई निर्देशन दिएको छ । समितिकी सभापति शशि श्रेष्ठले बाढीपहिरो पीडितको राहत, उद्धार र पुनःस्थापनामा ध्यान दिन सरकारलाई निर्देशन दिइन् । कान्तिपुर दैनिकमा खबर छ ।