
बागलुङ जिल्लाका बजारमा नेपाल टेलिकमको प्रिपेड सिमकार्ड अभाव भएको छ ।
बिक्रेताले वितरक कम्पनीबाट सिमकार्ड उपलब्ध हुन नसकेको बताएका छन् ।
टेलिकमको प्रिपेड सिमकार्ड वितरकमार्फत बजारमा आउँछ । गत चैतयता नै बजारमा सिमकार्ड नआएको चापागाईँ ट्रेर्डसका सञ्चालक सूर्य चापागाईंले बताए ।
‘वितरक कम्पनीले कोरोनाका कारण सिमकार्ड आउन ढिलो भएको जनाएका छन्,’ उनले भने । चापागाईंका अनुसार प्रिपेडको सिमकार्ड किन्न आउने प्रयोगकर्तालाई दिनदिनै फर्काउनुपरेको छ ।
टेलिकमको सिमकार्ड नपाएपछि प्रयोगकर्ताले अन्य दूरसञ्चार सेवा प्रदायकका सिमकार्ड किन्न बाध्य छन् । बागलुङसहित पर्वत, म्याग्दीका (पिओएस) लाई बन्दाबन्दीपछि सिमकार्ड पठाउन नसकिएको सजिलो इन्टरप्राइजेजका सञ्चालक उषा पौडेलले बताइन् । एउटै ‘पीओएस’बाट ५०० देखि १ हजार ५०० सम्म सिमकार्ड माग आएको उनको भनाइ छ ।
सिमकार्ड विदेशमा बनेर आउने भएकाले कोरोना र बन्दाबन्दीका कारण समयमा आउन नसकेको बुझिएको छ । टेलिकम कार्यालय बागलुङका वरिष्ठ इन्जिनीयर केशव शर्माले बजारमा आउने सिमकार्डका बारेमा आफूहरूलाई थाहा नहुने बताए । ‘हामीले कार्यालयबाट नियमित बेच्ने सिमकार्ड त छ,’ उनले भने, ‘बजारमा अभाव भएका भए हामीले पनि बुझ्नुपर्छ, कोरोनाका कारण आउन ढिलो भएको पनि हुनसक्छ ।’