
रेमिट्यान्स घटेर साढे सात खर्बमा खुम्चियो
आर्थिक वर्ष चालु आर्थिक ०७६/०७७ को ११ महिनामा रेमिट्यान्स आप्रवाहमा ३ प्रतिशतले कमी आएको छ।
नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार ११ महिनामा ७ खर्ब ७४ अर्ब ८७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ।
वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.५ प्रतिशतले बढेको थियो।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.१ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आप्रवाह ८.१ प्रतिशतले बढेको थियो।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या १२.४ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३५.७ प्रतिशतले घटेको थियो।
वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ३१.१ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५.४ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा खुद ट्रान्सफर आयमा ३.६ प्रतिशतले कमी आई ८ खर्ब ७२ अर्ब ७८ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १६.६ प्रतिशतले बढेको थियो।
विदेशबाट नेपाली नागरिक उद्दार गर्ने कार्यविधि स्वीकृत, यी हुन् मन्त्रिपरिषदका २१ निर्णयहरू
सरकारले गत सोमवार बसेको मन्त्रिपरिषदको निर्णय सार्वजनिक गरेको छ । बिहीवार अर्थमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता डाक्टर युवराज खतिवडाले सञ्चार मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्रिपरिषदका निर्णयहरू सार्वजनिक गरेका हुन् ।
मन्त्रिपरिषद बैठकले विदेशमा अलपत्र परेका नेपालीहरूको उद्दार गरी स्वदेश फिर्ता गराउने निर्देशिका स्वीकृत गर्नेदेखि लिएर बुटवल-नारायणगढ सडकखण्डका रुखहरू हटाउनेसम्मका निर्णयहरू गरेको छ ।
उपत्यकामा चार हजारमा कोरोना परीक्षण गर्दा तीन जनामा सङ्क्रमण
काठमाडौँ उपत्यकाका चार हजार जनाको नमूना परीक्षण गर्दा तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँ उपत्यकाको भीडभाड हुने ठाउँका अग्रपङ्क्तिमा काम गर्ने चार हजार दुई सय जनाको नमूना परीक्षण गर्दा तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिए ।
महाशाखाले काठमाडौँ उपत्यकाको समुदायमा कोभिड–१९ को सङ्क्रमण छ वा छैन भनेर भीडभाड हुने ठाउँका अग्रपङ्क्तिमा काम गर्ने व्यक्तिको परीक्षण गरेको हो । ती तीन जनामध्ये दुई जना बाहिर मुलुकबाट आएका व्यक्ति हुन् । पाँच हजारमा गरिएको नमूना परीक्षणमध्ये ८०० जनाको नतिजा आउन बाँकी छ ।
केही दिन यता बाहिर जिल्लामा सङ्क्रमण दर घटे पनि उपत्यकामा सङ्क्रमित बढेपछि महाशाखाले उपत्यकाका भीडभाड हुने ठाउँका मानिसमा परीक्षण गरेको हो । ‘हामीले उपत्यकामा समुदायस्तरमा नै सङ्क्रमण छ वा छैन भनेर पाँच हजार व्यक्तिमा परीक्षण गरेका थियौँ,’ उनले भने, ‘तर चार हजारको नतिजा आउँदा तीन जनामा मात्र सङ्क्रमण देखियो । यसले उपत्यकाको समुदायमा सङ्क्रमण छैन भन्ने देखाउँछ ।’
उनले अहिलेको नतिजाले उपत्यकाको समुदायमा सङ्क्रमण नआउने भन्ने नमिल्ने भन्दै सचेत रहन सबैमा आग्रह गरे । गत बिहीबारदेखि महाशाखाले उपत्यकाका बैंक, यातायात कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, अस्पतलामा अग्रपङ्क्तिमा रहेर काम गर्ने व्यक्तिको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको थियो ।
महाशाखाले उपत्यकाका तीनै जिल्लाका ती ठाउँमा गएर एउटा कार्यालयका ६० देखि ७० जनासम्मको नमूना सङ्कलन गरेको थियो । अस्पतालमा सघन उपचार कक्षका बिरामी, अर्बुदरोग र मिर्गौलाका डायलासिस गराइरहेका बिरामी तथा उनीहरुको उपचारमा संलग्न स्वास्थ्यकर्मीको परीक्षण गरिएको थियो ।
अहिलेसम्म उपत्यकामा ३५० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । हिजो मात्र काठमाडौँ जिल्लामा सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । यसैगरी कोरोना भाइरस सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)ले बाहिरी मुलुकबाट आउने सम्भावित ४४ हजार व्यक्तिको नमूना सङ्कलन गरी परीक्षण गरिरहेको छ । सीसीएमसीले स्थलमार्गबाट आउनेलाई सोही नाका र हवाइमार्गबाट आउनेलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा परीक्षण गरिरहेको छ ।
नेपालमा अहिलेसम्म तीन लाख तीन हजार ८१० को पीसीआर परीक्षण गर्दा १७ हजार ३४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । तीमध्ये ११ हजार २४९ जना सङ्क्रमण मुक्त भई घर फर्किसकेका छन् । नेपालमा हालसम्म कोरोना सङ्क्रमणबाट ३९ जनाको मृत्यु भइसकेको छ ।
थप १६७ जनामा कोरोना संक्रमण, संक्रमितको कुल संख्या १७ हजार ३४४ पुग्यो
नेपालमा कोरोनाभाइरस (कोभिड– १९) संक्रमितको संख्या १७ हजार ३४४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा बिहीवार आयोजित नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थप १६७ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइएको हो ।