
इरानले चाबहार–जाहेदान रेलवे प्रोजेक्टबाट भारतलाई निकाले लगत्तै फरजाद बी ग्यास ब्लकबाट समेत निकालेको छ ।
भारतको विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले बिहीवार नियमित पत्रकार सम्मेलनका क्रममा बताएअनुसार, ग्यास फील्ड एक्लैले विकसित गर्ने विषयमा इरानले भारतलाई खबर दिइसकेको छ । भारत पछि यसमा संलग्न हुन सक्ने इरानको भनाइ छ ।
भारत सन् २००९ देखि नै ग्यास फील्डको ठेक्का पाउन कोशिश गरिरहेको थियो । फरजाद बी ब्लकमा २१.६ खर्ब क्युबिक फीट ग्यास भण्डार छ ।
यो प्रोजेक्ट इरानले एक निजी कम्पनीलाई सुम्पिन सक्ने बताइएको छ ।
अमेरिकाले इरानसँगको आणविक सम्झौता रद्द गरेपछि इरानमा भारतका परियोजनाहरू धमाधम रद्द भइरहेका छन् । यसमा भारतको सुस्तपना अनि अमेरिकासँगको साझेदारी प्रमुख कारण हो ।
इरान र चीनबीच २५ वर्षका लागि ४०० अर्ब डलरको रणनीतिक तथा आर्थिक सम्झौता भएको बेलामा भारत चाहिँ हिस्स परिरहेको हो । चीनसँगको रणनीतिक साझेदारी सम्झौताका लागि इरानको संसद्ले अनुमति दिन बाँकी छ ।
चाबहार–जाहेदान रेलवे प्रोजेक्टमा फन्डिङ गर्न ढिलाइ गरेको भन्दै इरानले भारतलाई निकालेको खबर आइरहँदा भारतको विदेश मन्त्रालयले इरानको आधिकारिक स्वीकृतिको प्रतीक्षा भारतले गरिरहेको बतायो ।
विदेश मन्त्रालयका प्रवक्ताले सन् २०१९ को डिसेम्बर महिनामा भारत–इरान संयुक्त आयोगको बैठकमा यी विषयहरूमा विस्तृत चर्चा भएको बताए । इरानले प्राविधिक तथा आर्थिक विषयमा अन्तिम फैसला गर्नका लागि एक आधिकारिक समूह बनाउने कुरा गरेको र भारतले त्यसको प्रतीक्षा गरिरहेको प्रवक्ताले बताए ।
हालै इरानका उपराष्ट्रपति एशाक जहाँगिरीले रेलवे लिंक निर्माणका लागि नेसनल डेभलपमेन्ट फन्डबाट ३० करोड डलर खर्च गर्ने स्वीकृति सरकारले दिएको बताएका थिए ।