
मोरङको केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्कीमाथि एक ठेकेदारले खुकुरी प्रहार गरेका छन् ।
गाउँपालिका उपाध्यक्ष शाान्तिकुमारी लिम्बू भुजेलको कार्यकक्षमा रहेका ठेकेदार भवन मल्ल ठकुरीले ठेक्का नपाएको निहुँमा अध्यक्षमाथि आक्रमण गरेका हुन् ।
‘उपाध्यक्षज्यूको कार्यकक्षमा बसेर छलफल गरिरहेको समयमा त्यो युवकले अध्यक्षज्यूमाथि एक्कासी खुकुरी प्रहार गर्यो, उसँग कुनै विवाद थिएन,’ गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत पुण्यप्रसाद पौडेलले लोकान्तरसँग भने ।
घाँटी र हातमा चोट लागेर घाइते भएका अध्यक्ष कार्कीलाई उपचारको लागि नोबेल अस्पताल विराटनगर लगिएको पौडेलले जानकारी दिए । यसअघि गाउँपालिकाको कर उठाउने ठेक्का पाएका उनको ठेक्काको समय सकिएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मानबहादुर राईले घटनामा संलग्नलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जानकारी दिए ।