
दक्षिण चीन सागरमा अमेरिकी जलसेनाका दुई विमानवाहक युद्धपोतहरूले दुर्लभ दोहोरो अभ्यास पुनः शुरू गरेका छन् । यस महिनामा उनीहरूले अभ्यास गरेको यो दोस्रो अवसर हो ।
यूएसएस रोनाल्ड र यूएसएस निमिट्ज क्यारियर स्ट्राइक ग्रूपहरूमा १२ हजार भन्दा बढी अमेरिकी सैनिक छन् । त्यसमा दुई विमानवाहक युद्धपोत र तीसँगै क्रुजर र डिस्ट्रोयरहरू छन् । शुक्रवार उनीहरू दक्षिण चीन सागरमा काम गरिरहेको यूएस प्यासिफिक फ्लीटले बयान जारी गरेर जनायो ।
यी दुई युद्धपोतमा १२० भन्दा बढी विमान छन् र यिनले रणनीतिक हवाई सुरक्षा अभ्यास गर्दै युद्धका लागि तयारी अवस्थामा आफूलाई राखेका छन्, बयानमा उल्लेख गरिएको छ ।
जुलाई महिनाको आरम्भमा दक्षिण चीन सागरमा निमिट्ज र रेगनको एकसाथ उपस्थिति सन् २०१४ पछि पहिलोपटक भएको हो ।
जुलाई ४ अर्थात् अमेरिकाको स्वतन्त्रता दिवसका अवसरमा उक्त अभ्यास शुरू गरिएको हो । रेगनमा रहेका नेभी लेफ्टिनेन्ट कमान्डर सीन ब्रोफीले दुवै स्ट्राइक ग्रूपहरूले आआफ्नो कारवाही जारी राख्ने भनी जुलाई ८ मा बताएका थिए ।