
प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरिएपछि उत्कर्षमा पुगेको नेकपा विवाद सहमतिको मार्गमा अघि बढेको छ । शनिवार बसेको सचिवालय बैठकमा कसैले पनि ओलीको राजीनामा माग गरेनन् ।
असार १० गते शुरू भएर पटक-पटक स्थगित हुँदै आएको पाचौं स्थायी कमिटी बैठकमा असार १६ गते बहुमत सदस्यले ओलीको राजीनामा माग गरेका थिए । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल लगायतले ओलीको राजीनामा माग गरेपछि नेकपाको विवाद उत्कर्षमा पुगेको थियो ।
शनिवारको बैठकमा ओलीको राजीनामाको प्रसंग नउठेको एक सचिवालय सदस्यले जानकारी दिए । बैठकमा अध्यक्ष ओलीले पार्टीभित्र उत्पन्न विवाद समाधानका लागि शीघ्र महाधिवेशनमा जान प्रस्ताव गरेका थिए । ओलीको सो प्रस्तावमा अन्य सचिवालय सदस्यहरुले विरोध जनाएनन् । सो प्रस्तावबारे भोलि बस्ने स्थायी कमिटी बैठकमा छलफल हुनेछ ।
बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकारहरुले ओलीको राजीनामाबारे सोधिएको प्रश्नमा घुमाउरो जवाफ दिएका थिए । उनले पार्टीभित्रको विवाद सहमतिमै टुंगिने विश्वास व्यक्त गरे ।
‘प्रधानमन्त्रीको राजीनामा सम्बन्धमा त्यस प्रकारको कुनै विषय औपचारिक प्रस्ताव बनेको थिएन, पार्टीमा छलफलका क्रममा पार्टीका विभिन्न नेता कमरेडले के गरेर आजको संकट समाधान गर्न र हाम्रो जिम्मेवारी पूरा गर्न सकिन्छ भन्नेबारे विभिन्न विचार प्रस्ताव गर्नु भएको थियो,’ प्रधानमन्त्रीको राजीनामाबारे पत्रकारले सोधेको एक प्रश्नको जवाफमा श्रेष्ठले भनेका थिए, ‘त्यो प्रस्ताव आफ्नो ठाउँमा छ । त्यो विचार प्रस्ताव बनेको र निर्णायार्थ पेश गर्नेगरी बनेको अवस्था होइन । तैपनि स्थायी कमिटीमा र पार्टीमा देखिएका विभिन्न विचारलाई पनि सम्वोधन गर्ने कसरी समाधान निकाल्न सकिन्छ भन्नेबारे छलफल जारी छ । सहमतिको आधारमा निकास निकालौं भन्ने कुरा भएको छ, छलफल जारी छ ।’
सचिवालय बैठकअघि ओली र प्रचण्डबीच बालुवाटारमा दुइघण्टा लामो छलफल भएको थियो । शनिवारको सचिवालय बैठकपछि असार १७ गतेयता पटक-पटक स्थगित हुँदै आएको स्थायी कमिटी बैठक भोलि बस्ने पक्का भएको छ । प्रवक्ता श्रेष्ठले भोलिका लागि तोकिएको बैठक निर्धारित समयमै बस्ने जानकारी दिए ।
सचिवालय बैठक सकिएलगत्तै प्रधानमन्त्री एवं अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका थिए । नेकपा विवाद चर्किएको समयमा ओली र प्रचण्डले यसअघि पनि पटक-पटक राष्ट्रपति भण्डारीलाइ भेटेका थिए ।