२५ असार २०८३, बिहीबार

नेकपा विवाद नयाँ मोडमा : प्रचण्डलाई ओलीले गरेको प्रस्तावले टुंगिएला त विवाद ?

नेकपा विवाद नयाँ मोडमा : प्रचण्डलाई ओलीले गरेको प्रस्तावले टुंगिएला त विवाद ?

प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरिएपछि उत्कर्षमा पुगेको नेकपा विवाद सहमतिको मार्गमा अघि बढेको छ । शनिवार बसेको सचिवालय बैठकमा कसैले पनि ओलीको राजीनामा माग गरेनन् ।

असार १० गते शुरू भएर पटक-पटक स्थगित हुँदै आएको पाचौं स्थायी कमिटी बैठकमा असार १६ गते बहुमत सदस्यले ओलीको राजीनामा माग गरेका थिए । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल लगायतले ओलीको राजीनामा माग गरेपछि नेकपाको विवाद उत्कर्षमा पुगेको थियो ।

शनिवारको बैठकमा ओलीको राजीनामाको प्रसंग नउठेको एक सचिवालय सदस्यले जानकारी दिए । बैठकमा अध्यक्ष ओलीले पार्टीभित्र उत्पन्न विवाद समाधानका लागि शीघ्र महाधिवेशनमा जान प्रस्ताव गरेका थिए । ओलीको सो प्रस्तावमा अन्य सचिवालय सदस्यहरुले विरोध जनाएनन् । सो प्रस्तावबारे आइतवार बस्ने स्थायी कमिटी बैठकमा छलफल हुनेछ ।

बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकारहरुले ओलीको राजीनामाबारे सोधिएको प्रश्नमा घुमाउरो जवाफ दिएका थिए । उनले पार्टीभित्रको विवाद सहमतिमै टुङ्गिने विश्वास व्यक्त गरे ।

‘प्रधानमन्त्रीको राजीनामा सम्बन्धमा त्यस प्रकारको कुनै विषय औपचारिक प्रस्ताव बनेको थिएन, पार्टीमा छलफलका क्रममा पार्टीका विभिन्न नेता कमरेडले के गरेर आजको संकट समाधान गर्न र हाम्रो जिम्मेवारी पूरा गर्न सकिन्छ भन्नेबारे विभिन्न विचार प्रस्ताव गर्नु भएको थियो,’ प्रधानमन्त्रीको राजीनामाबारे पत्रकारले सोधेको एक प्रश्नको जवाफमा श्रेष्ठले भनेका थिए, ‘त्यो प्रस्ताव आफ्नो ठाउँमा छ । त्यो विचार प्रस्ताव बनेको र निर्णायार्थ पेश गर्नेगरी बनेको अवस्था होइन । तैपनि स्थायी कमिटीमा र पार्टीमा देखिएका विभिन्न विचारलाई पनि सम्वोधन गर्ने कसरी समाधान निकाल्न सकिन्छ भन्नेबारे छलफल जारी छ । सहमतिको आधारमा निकास निकालौं भन्ने कुरा भएको छ, छलफल जारी छ ।’

सचिवालय बैठकअघि ओली र प्रचण्डबीच बालुवाटारमा दुई घण्टा लामो छलफल भएको थियो । शनिवारको सचिवालय बैठकपछि असार १७ गते यता पटक-पटक स्थगित हुँदै आएको स्थायी कमिटी बैठक आइतवार बस्ने पक्का भएको छ । प्रवक्ता श्रेष्ठले भोलिका लागि तोकिएको बैठक निर्धारित समयमै बस्ने जानकारी दिए ।

सचिवालय बैठक सकिएलगत्तै प्रधानमन्त्री एवं अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका थिए । नेकपा विवाद चर्किएको समयमा ओली र प्रचण्डले यसअघि पनि पटक-पटक राष्ट्रपति भण्डारीलाई भेटेका थिए ।

मंसिरमा पार्टीको महाधिवेशन गर्ने सहमति नजिक 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकमा पार्टीको एकीकृत महाधिवेशन आगामी मंसिरमा गर्ने विषयमा सहमति नजिक पुगेको छ ।

सचिवालयमा जुटेको सहमति आइतवार आइतवारका लागि निर्धारित स्थायी कमिटी बैठकमा लगेर अनुमोदन गराउने विषयमा मोटामोटी सहमति भएको सचिवालय स्रोतले लोकान्तरलाई जानकारी दियो । 

नेकपा बैठक सकिएपछि लोकान्तरले सचिवालयका ४ जना सदस्यलाई सम्पर्क गरेको थियो । मंसिरमा महाधिवेशन गर्ने विषयमा सबैले साङ्केतिक समर्थन जनाएका थिए ।

सचिवालयमा करीब–करीब सहमतिमा पुगेको यो विषय आइतवार आइतवार बस्ने स्थायी कमिटी बैठकमा पेश गरिने छ । 

स्थायी कमिटीबाट अनुमोदन भएपछि नेकपा महाधिवेशनको टुंगो लाग्ने छ । गत माघ महिनामा सम्पन्न नेकपा केन्द्रीय कमिटी बैठकले पार्टीको महाधिवेशन २०७७ चैतमा गर्ने निर्णय गरेको थियो । विशेष परिस्थिति भन्दै महाधिवेशन मंसिरमा सम्पन्न गर्ने नेकपा सचिवालयले सहमति गरेको छ ।

यससँगै नेकपाभित्र देखिएको विवाद समाधान हुने संकेत देखिएको छ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भई २०७५ जेठ ३ गते नेकपा बनेको थियो । 

नेकपा सचिवालय बैठकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कार्यकारी अध्यक्ष बनाउने, २०७६ मंसिर ४ गतेको सहमति थप व्याख्या गरेर अगाडि बढ्ने समेत सहमति जुटेको स्रोतको दाबी छ । शनिवारको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकारको काम कारवाही सच्चाएर अघि बढ्ने बताएका थिए । 

बैठकपछि अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका थिए ।

सहमतिबाट अघि बढ्न राष्ट्रपति भण्डारीको सुझाव 

राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिवार साँझ भेटवार्ता गरेका छन् ।

पार्टीको सचिवालय बैठक सकिएलगत्तै अध्यक्षद्वयले राष्ट्रपति भवन शीतलनिवास पुगेर भेटघाट गरेका हुन् । भेटवार्ताका क्रममा मुलुकको समसामयिक विषयमा छलफल भएको जनाइएको छ ।

नेकपाको शीर्ष तहमा देखिएको विवाद समाधानका लागि छलफल जारी रहेका बेला शनिवार सचिवालय बैठकसमेत बसेको थियो । आजको सचिवालय बैठक सङ्कट समाधानका लागि सकारात्मक दिशातर्फ अघि बढेको जनाइएको छ ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले आजको बैठकले पार्टीमा देखिएको सङ्कट समाधान गर्न छलफल जारी राख्ने निष्कर्ष निकालेको जानकारी दिएका छन् ।

शीर्ष नेताबीच सरकार र पार्टी सञ्चालनका विषयमा एकमत नहुँदा यसअघि पटकपटक स्थायी कमिटी बैठक स्थगन हुँदै आएको छ ।

नेकपाभित्रको सङ्कटलाई सहमतिको आधारमा टुङ्ग्याइन्छ - प्रवक्ता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टीमा देखिएको आन्तरिक सङ्कटलाई सहमतिको आधारमा टुङ्ग्याउन थप छलफल गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार बसेको सचिवालय बैठकले अहिलेको राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्ने गरी पार्टीको आन्तरिक सङ्कटलाई सहमतिका आधारमा सम्बोधन र समाधान गर्नेबारेमा छलफल भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

‘बैठकमा पार्टीभित्र देखापरेका समस्याका बारेमा राम्रोसँग छलफल भएको छ । अझ छलफल गरेर पार्टी एकतालाई रक्षा र सुदृढ गर्ने र आजको समाजको आवश्यकतालाई सम्बोधन गर्न जनताले दिएको जनादेशअनुसार अगाडि बढ्ने विषयमा केन्द्रित भएको छ,’ उनले भने, ‘त्यो जनादेशअनुसार काम गर्ने गरी पार्टीको सङ्कट निवारण गर्न अझ थप छलफल गर्ने निष्कर्ष निकालेको छ ।’

 बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा सचिवालयका अन्य सदस्यबीच अहिलेको पार्टीको सङ्कटलाई सहमतिका आधारमा निकास दिएर पार्टी एकताको रक्षा गर्ने र राष्ट्र तथा जनताले पार्टीलाई दिएको जिम्मेवारी पनि पूरा गर्नाका लागि थप गृहकार्य गरेर अगाडि बढ्नुपर्छ भन्ने सहमतिसमेत भएको उनले बताए ।

प्रवक्ता श्रेष्ठले दुवै अध्यक्षले पार्टीमा देखिएको सङ्कटलाई सहमतिको आधारमा टुङ्ग्याउने बताए । उनले स्थायी कमिटीमा र पार्टीमा देखापरेका विभिन्न विचारलाई पनि सम्बोधन गर्ने गरी कसरी सहमतिका आधारमा सम्बोधन गर्ने भनेर निकास निकाल्नका लागि छलफल जारी रहेको बताए ।

सञ्चारकर्मीले सोधेको प्रश्नमा उनले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट केपी शर्मा ओलीले राजीनामा दिने कुनै औपचारिक प्रस्ताव नबनेको बताए ।

‘पार्टीमा छलफलका क्रममा पार्टीका विभिन्न नेताले के गरेर आजको सङ्कट समाधान गरेर हाम्रो जिम्मेवारी पूरा गर्न सकिन्छ भनेर विभिन्न विचार प्रस्तुत गर्नुभएको हो,’ उनले भने, ‘त्यो प्रस्ताव (प्रधानमन्त्रीले राजीनामा) विचार बनिसकेको अवस्था र निर्णयार्थ प्रस्तुत भएको छैन ।’

उनका अनुसार बैठकमा आइतवार (आइतबार) पूर्वनिर्धारित स्थायी कमिटीको बैठक अपराह्न ३ बजे नै जारी राख्ने सहमति भएको छ ।

गत असार १० गतेबाट जारी स्थायी कमिटी बैठक पार्टीको आन्तरिक विवादका कारण पटक–पटक स्थगन हुँदै आएको छ । सचिवालय बैठकअघि अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटवार्ता भएको थियो ।

चार घण्टा बालुवाटारमा बसेको बैठकमा समग्र पार्टीको सङ्कटका बारेमा छलफल भएको थियो ।

आइतवार स्थायी कमिटी बैठक निर्धारित समयमै बस्ने !

पटक–पटक सर्दै अनिश्चित बन्दै गएको नेकपा स्थायी कमिटी बैठक आइतवार निर्धारित समयमै बस्ने सहमति सचिवालय बैठकमा भएको छ ।

सचिवालय बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले आइतवार निर्धारित समयमै बैठक बस्ने जानकारी दिए ।

स्थायी कमिटी बैठक आइतवार दिउँसो ३ बजेका लागि बोलाइएको छ । 

पार्टीमा देखिएको संकट र विवाद समाधानका लागि थप छलफल गर्दै गर्ने विषयमा समेत बैठकमा सहमति भएको प्रवक्ता श्रेष्ठले बताए । ‘पार्टी एकता रक्षा र सुदृढ गर्ने, नेपाली समाजको आवश्यकतालाई सम्बोधन गर्न जनताले दिएको जनादेश अनुसार नै काम गर्ने गरी पार्टीको संकट निवारण गर्न थप छलफल गर्ने निष्कर्ष निकालिएको छ,’ श्रेष्ठले भने ।

salt training

कमेन्ट गर्नुहोस्