काठमाडौं, १९ बैशाख – मंगलबार साँझ ५ बजेसम्म उम्मेद्वारी नै दर्ता गराउनु पर्ने भएपछि एमाले बिहानैदेखि सर्वाधिक चासोको रुपमा हेरिएको काठमाडौं महानगरपालिकाको उम्मेदवारको टुंगो लगाउन जुटेको छ ।
सोमबार अबेरसम्म बसेको स्थायी कमिटी बैठकमा कसलाई मेयर बनाउने भन्नेमा विवाद भएपछि आज पुन बसेर टुंग्याउने गरी बैठक स्थगित भएको थियो । एमाले कार्यालय सचिव कृष्ण गोपाल श्रेष्ठले काठमाडौंको मेयरको उम्मेदवारको आज बैठक बसेर टुंगो लगाइने जानकारी दिए ।

नेताहरुका अनुसार काठमाडौंमा विद्यासुन्दर शाक्य, सावित्रा भूसाल जीवनराम श्रेष्ठको नाम सिफारिस भए पनि पूर्वमेयर केशव स्थापितको नाममा समेत एकाएक आएपछि बैठकमा विवाद भएको हो ।
प्रदेश कमिटी बैठकले नाम सिफारिश गर्दा स्थापितको नाम नभएपनि स्थायी समितिमा एकाएक नेता शंकर पोख्रेलले उनको नाम प्रवेश गराएपछि विवाद भएको बताइएको छ ।
त्यसबारे आज अध्यक्ष केपी ओली, नेता माधव नेपाल र उपाध्यक्ष अष्टलक्ष्मी शाक्य बसेर टुङगाउने बताइएको छ । स्रोतका अनुसार जीवनराम श्रेष्ठको नाममा सहमति बन्ने सम्भावना रहेको छ ।
यस्तै एमालेले ललितपुर महानगरपालिकाको उम्मेद्वारको पनि टुंगो लगाउन सकेको छैन । ललितपुर महानगरमा हरिकृष्ण ब्यञ्जनकारको नाम सिफारिस गरेको भएपनि एकाएक अर्का नेता ज्ञानेन्द्र शाक्य नाम पनि चर्चामा आएको छ । उनी ओलीका सालो हुन् । ललितपुरको विषयमा पनि तीन नेता बसेर टुंगो लगाइने छ ।