०८ असार २०८३, सोमबार

प्रचण्डले सार्वजनिक रूपमै भने– 'नेकपा एमाले दर्ता ओलीकै पहलमा भयो'

प्रचण्डले सार्वजनिक रूपमै भने– 'नेकपा एमाले दर्ता ओलीकै पहलमा भयो'
फाइल फोटो

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सार्वजनिक रूपमै निर्वाचन आयोगमा एमाले नामको पार्टी दर्ता गर्न पहल गरेको आरोप लगाएका छन् ।

शुक्रवार पुष्पलाल स्मृति दिवसको सन्दर्भमा राजधानी काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले स्थायी कमिटीको बैठक चल्दाचल्दै एमाले दर्ता गरेर पार्टी फुटाउन खोजेको आरोप ओलीलाई लगाएका हुन् ।

'पार्टीको बैठक चल्दाचल्दै निर्वाचन आयोगमा नेकपा एमाले दर्ता भयो,' उनले भने, 'हाम्रो पार्टीका अर्का अध्यक्षकै पहलमा भएको छ । यो सबैले देखेकै कुरा हो ।'

उनी यतिमै रोकिएनन्, देशभरि प्रधानमन्त्रीको पक्षमा नारा जुलुस लागेको भन्दै असन्तुष्टिसमेत प्रकट गरे । 

'अहिले देशभरि केही कार्यकर्ताहरूलाई नारा जुलुसमा लगाउने कोशिश भएको छ,' उनले थपे, 'पार्टीमा छलफल गरिरहेका छौं तर मुर्दावाद र जिन्दावादको जुलुस हुनु भनेको एकताप्रति प्रतिबद्ध हुनु हो कि फूटतिर जानु हो ?'

प्रचण्डले कालापानी, लिपुलेक तथा लिम्पियाधुरालाई समेटेर नक्सा जारी गरिएको सन्दर्भमा कसैलाई देवत्वकरण कसैलाई दलालीकरण गरिएकोमा पनि असन्तुष्टि जनाए ।

केन्द्रीय समितिले नक्सा जारी गर्न निर्णय गरेरै सुझाव दिएको र कार्यान्वयन नभएपछि सचिवालयबाट पनि सरकारको नीति तथा कार्यक्रममै समेट्न निर्देशन दिएपछि प्रधानमन्त्री ओली बल्ल नक्सा जारी गर्न सहमत भएको उल्लेख गर्दै प्रचण्डले नक्सा जारी गर्न निर्देशन दिने पार्टीका नेताहरूलाई दलालीकरण र नक्सा जारी गर्न महिनौं ढिला गर्ने प्रधानमन्त्रीलाई देवत्वकरण गरिएकोमा असन्तुष्टि जनाए ।

salt training

कमेन्ट गर्नुहोस्