
नेपाल प्रहरीमा जागिर लगाइदिन्छु भनी एक व्यक्तिसँग रु तीन लाख ५० हजार लिएर ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले एक व्यक्तिलाई प्रहरीमा जागिर लगाइदिने भनी ठगी गर्ने रुकुम पश्चिमका २४ वर्षीय अनिल वलीलाई बुधबार राति पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो।
परिसरका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले पक्राउ परेका वलीले विभिन्न व्यक्तिसँग ठगी गरेको निवेदन परेपछि पक्राउ गरिएको जानकारी दिए।
प्रहरीले पक्राउ परेका वलीको साथबाट सागर अधिकारीको नामको अर्थ मन्त्रालयको नक्कली कार्ड, कीर्तिपुर नगरपालिकाको नक्कली राजश्व सङ्कलन गरेको कागजात, प्रतिबन्धित नेकपा माओवादी ‘विप्लव’ समूहको आर्थिक सहयोग गर्ने कागजात बरामद गरेको छ ।