
कांग्रेसले भन्यो– सरकारले परीक्षण घटाएर कोरोना संक्रमण घटेको भ्रामक प्रचार गर्यो
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले कोभिड- १९ परीक्षणको दायरा घटाएर संक्रमणको जोखिम कम भएको भ्रामक प्रचार गरिरहेको आरोप लगाएको छ ।
कांग्रेस सहमहामन्त्री एवं कांग्रेसद्वारा गठित कोभिड–१९ अनुगमन समिति संयोजक डा. प्रकाशरण महतले शुक्रवार पत्रकार सम्मेलन गरी यस्तो आरोप लगाएका हुन् ।
'नेपाली कांग्रेसको पटक–पटकको ध्यानाकर्षणको बावजुद होल्डिङ सेन्टर, क्वारेन्टाइन केन्द्रहरूलाई मापदण्ड अनुरूप सञ्चालन गर्ने र परीक्षणको दायरा फराकिलो पार्नुपर्ने आवश्यकतालाई सरकारले गम्भीरताका साथ लिएन, उल्टो परीक्षणको दायरा घटाएर संक्रमणको जोखिम कम भएको भ्रामक प्रचार गरिरहेको छ,' पत्रकार सम्मेलनमावितरीत प्रेस विज्ञप्तिमा भनिएको छ ।
पछिल्लो २४ घण्टामा थपिए १ सय ३३ कोरोना संक्रमित, १ सय ७ डिस्चार्ज
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा नेपालमा १ सय ३३ जनामा कोरोना संक्रमण देखिएको जनाएको छ ।
शुक्रवार नियमित प्रेस ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १ सय ३३ जनामा कोरोना पुष्टि भएको बताएका हुन् ।
उनले १ सय ७ जनाले कोरोना जितेर डिस्चार्ज भएकोसमेत जानकारी दिए ।
यससँगै नेपालमा सक्रिय संक्रमित ५ हजार ३ सय ८३ रहेको छ भने आजसम्म १२ हजार ९ सय ४७ ले कोरोना जितेर डिस्चार्ज भइसकेका छन् ।
पार्टी सामान्य स्थितिमा छैन, एकतालाई क्षति पुग्ने गतिविधि नगरौं : प्रचण्ड
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी सामान्य स्थितिमा नरहेको भन्दै एकतालाई क्षति पुग्ने गतिविधि नगर्न आग्रह गरेका छन् ।
उनले पार्टीमा भइरहेको बहस विचार र विधि स्थापित गर्न भइरहेको भन्दै एकतालाई जोगाइराख्न आफूहरूले कसरत गरिरहेको बताए ।
नेकपाका संस्थापक पुष्पलाल श्रेष्ठ र नरबहादुर कर्माचार्यको स्मृति दिवसको अवसरमा शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले पार्टी एकताको समयमा भएको सहमतिबाट पछाडि फर्कन खोजेका संकेत देखिएको समेत बताए ।
‘पार्टी एकतामा केही आधार बनायौं, राजनीतिक कार्यदिशाको रूपमा जनताको बहुदलीय जनवाद, २१ औं शताब्दीको जनवाद र माओवादलाई विकसित र परिमार्जन गर्न भन्दै समाजवादउन्मुख जनताको जनवाद भन्यौं,’ प्रचण्डले भने, ‘अहिले पछाडि फर्कन खोजेका संकेत देखिएका छन् । जनताको बहुदलीय जनवाद जिन्दावाद भनियो भने एकता हुँदैन ।’
जनताको बहुदलीय जनवादलाई निषेध नगरिएको र मदन भण्डारीको योगदानलाई पार्टी एकता गर्दा उच्च मूल्यांकन गरिएको स्मरण गर्दै प्रचण्डले माओवादी जनयुद्धलाई पनि उच्च मूल्यांकन गरिएको नभुल्न आग्रह गरे ।
‘अहिले मैले माओवादी जिन्दावाद भन्न थाले एकतालाई प्रवद्र्धन गरेको ठहरिँदैन, एकअर्काको भावना र संवेदनशीलतालाई सम्बोधन गर्नेतर्फ होइन विपरीत हुन्छ, अहिले जुलुस ननिकालौँ,’ उनले भने ।
प्रचण्डले पार्टी भनेको विचार र विधि तथा पद्धतिको संयोजन रहेको उल्लेख गर्दै जबज बोकेर नहिँड्ने संकेत गरे ।
‘एकताप्रति तपाईंलाई माया छैन भने एकतालाई क्षति पुग्ने गतिविधि गर्नुहुन्छ । सामूहिक निर्णयमा विश्वास छैन भने व्यक्तिगत फैसलालाई सर्वोपरि ठान्नु हुन्छ,’ प्रचण्डले भने ।
उनले पार्टीमा भइरहेको बहसले अझ खारिएको पार्टी बन्ने विश्वास गरे ।
‘हामीले प्रयास गरिरहेका छौं, पार्टी विभाजन हुन दिइने छैन, पार्टीलाई एकताबद्ध राखिने छ । विचार केन्द्रित बनाइने छ । विचार र विधि अझ स्पष्ट हुनेछ । कोही आत्तिनु पर्दैन, अझ खारिएको पार्टी विकास हुनेछ,’ कार्यकर्तालाई सम्झाउँदै प्रचण्डले भने ।