
पश्चिम नेपालस्थित विभिन्न बस्तीका मुक्तकमैयाले आ–आफ्नै तौरतरिकाले साउन २ गते २० औं कमैया मुक्ति दिवस मनाए । आर्थिक हैसियत अनुसार मिठो मसिनो खाए, नाचगान गरे ।
तर मुक्तकमैया आन्दोलनका मसिहाको रुपमा परिचित ५९ वर्षीय मुक्तकमैया सीताराम डंगौरा थारुलाई भने साउन २ गते जीवनकै अति कष्टकर र भयानक लामो दिन लागेको छ ।
उनले दिनभर धनगढी–पथरी सडक खण्ड अन्तर्गत खुटिया नदीमा निर्माणाधीन पुलमा ढुंगा, गिट्टी लगायत निर्माण सामग्री ओसार्नमा बिताए अनि घरिघरि स्मरण गर्थे, आफ्नो कमैया जीवन रूपी तीता अतितका पलहरू, क्रान्तिकारी नाराले गुञ्जायमान हुने मुक्ति आन्दोलन र हालको निरस लाग्दा विवशताहरू ।
तर सबैभन्दा पीडा उनलाई मुक्ति दिवसमा कसैले पनि नसम्झिँदा भएको छ । घरिघरि भक्कानिन पुगेका उनले आफुलाई सम्हाल्दै लोकान्तरसँग पीडा पोखे, ‘रातदिन म कमैयाहरूकै चिन्तामै हुन्छु । विगतमा ठूला–ठूला आन्दोलन मेरै नेतृत्वमा भयो । योजनाकार थिएँ । २ दिनयता मुक्ति दिवसबारे कसैले खबर दिन आउँलान् र जाउँला भन्ने सोच बनाएरै बसे । धनगढी जाने बाटो हरेरै बित्यो तर कोही आएनन्, कुनै खबर पाएन । हे भगवान ! जीवनमा के पाप गरेको छु जस्तो लाग्यो । मनमनै सबैलाई मुक्ति दिवसको शुभकामना दिए ।’
उनै सीताराम लगायतको नेतृत्वमा नै कमैया मुक्ति आन्दोलनको बिजारोपण भएको हो । आन्दोलन निष्कर्षमा पुग्यो । तत्कालीन सरकारले २०५७ साउन २ गते मुक्तिको घोषणा गर्यो । २७ हजार बढी मुक्तकमैया दासताको जञ्जिरबाट मुक्त भए, पुनःस्थापना गरिए ।
तर आफैं पुनःस्थापनाबाट बिमुख भएका सीताराम हाल धनगढी उपमहानगरपालिका–१७ पथरीस्थित ऐलानी जग्गामा बस्दै आएका छन् । पुनःस्थापनाको कार्यक्रम नटुंगिँदै सरकारी संयन्त्र नै भंग गरिएपछि उनीसहित सयौं मुक्तकमैया परिवार अझै अस्थायी टहरामा कष्टकर जीवन जिउन बाध्य छन् ।
‘मबाटै शुरूवात, मबाटै अन्त्य गर्छु’
पुनःस्थापनाको कार्यक्रम नटुंगिँदै प्रभावित हुनुमा उनी आफूलाई पनि जिम्मेवार ठान्छन् । राजनीतिक दल, कमैयाको नाममा डलरको खेती गर्ने संघसंस्थालाई उत्तिकै जिम्मेवार ठान्छन् उनी । ‘अब त पुनःस्थापनाको बारेमा कसैलाई मतलबै छैन । सबैको आफ्नै स्वार्थ रैछ । पद र पैसाकै । म पनि २ छाककै पछि दगुरें,’ उनले निराशा व्यक्त गरे, ‘अब त मलाई लाग्छ, जबसम्म म घरबाट निस्किन सक्दैन, तबसम्म बाँकीको पुनःस्थापना हुनै सक्दैन ।’
निर्माणाधीन खुटिया पुलमा रहेको इन्जिन किनारा लगाउँदै गरेका उनी समय–समयमा आक्रोशित हुन पुग्थे । आफू नेतृत्वबाट हटेपछि पुनःस्थापना कार्यक्रम प्रभावित हुँदै गएको बताउँदै उनले पुनः आफ्नै नेतृत्वमा आन्दोलन हाँक्ने अड्डी पनि कसे ।
‘मबाटै आन्दोलनको शुरूवात भयो, मबाटै निष्कर्षमा पुर्याउने जाँगर पनि मनमा आउँछ । ५ जिल्लास्थित कमैयाहरूको नेतृत्व अझै लिन सक्छु जस्तो लागेर आउँछ । त्यस्तै परे १ दिन घरबाट निस्कने छुु । सरकारलाई दबाब सिर्जना गरेर पुनःस्थापनालाई निष्कर्षमा पुर्याउन सक्छु जस्तो लाग्छ ।’

जिविसको उधारो पुरस्कारले डुबेका सीताराम
सीतारामको जीवन नै संघर्षमय बितेको छ । उनको जीवनमा यस्तो घटना पनि घटेको छ, जुन घटनाले उनलाई पुनः स्थापनाबाट हात धुनुपरेको छ । तत्कालीन जिल्ला विकास समिति कैलालीले उनको योगदानको कदर स्वरूप पुनःस्थापनाको अन्त्यमा उनलाई पुरस्कार स्वरुप १० कठ्ठा जग्गा दिने निर्णय गरेको थियो तर हाल जिविस समेत भंग भएको र पुनःस्थापनाको कार्यक्रम समेत प्रभावित भएपछि उनी पुनःस्थापनाबाट हात धुनु परेको बताउँछन् । आफूसँग कमैयाको परिचयपत्र समेत नरहेको उनी दुःखेसो सुनाउँछन् ।
भावुक हुँदै सीताराम भन्छन्, ‘आन्दोलनसँगै कमैयाहरूको लगत संकलनमा सरकारलाई सहयोग गरें तर आफैं छुटेछु । तत्कालीन जिल्ला वन अधिकृत लगायतले पनि भन्न थाले – सीताराम आफैं कमैयाको नेता हो । यसलाई पुनःस्थापना अभियानको अन्तिममा पुनःस्थापना गर्नुपर्छ । पहिल्यै पुनःस्थापना गरिए अभियानमा ध्यान दिँदैन । मलाई पनि पछि त भइहाल्छ भन्ने लाग्यो ।’
२०५८ सालताका तत्कालीन राजा ज्ञानेन्द्र शाहको शासनकालमा जिल्ला विकास समिति कैलालीको सभापति छेदालाल चौधरी भए । जिल्ला सभापति चौधरीकै अध्यक्षता कमैया पुनःस्थापना समितिको बैठक बस्यो । बैठकबाट पुनःस्थापनाको काम सम्पन्न भएपछि परिचयपत्रसहित पुरस्कार स्वरूप १० कट्ठा जग्गा दिने निर्णय भएको बताइन्छ तर न जिविस रह्यो, न पुनःस्थापना भयो ।

पुस्तौं–पुस्तासम्म कमैयाकै जञ्जिर र विद्रोह
आमा चुन्की र बाबा गोपीलाल डंगौराको कोखबाट २०१८ सालमा गौरीगंगा नगरपालिका (साविक चौमाला गाविस–१ खुरखुरिया) मा सीतारामको जन्म भएको थियो । जन्मजात कमैयाको छोरो रहेका उनले पनि कमैया यात्रा शुरू गर्नुको विकल्प थिएन ।
उनी आफ्नो बाल्यकाल स्मरण गर्दै भन्छन्, ‘बाबा डाई (आमा) जमिनदार फलिराम डंगौराको घरमा कमैया बसेका थिए । त्यहाँ नै मेरो जन्म भयो । त्यहीँ हुर्किएँ । ७–८ वर्षको उमेरमा जमिनदारको छेग्रहुवा (बाख्रा चराउने बालक), गयारुवा (गाई गोरु चराउने व्यक्ति) बनें । अलि ठूलो भएँ, कमैया बसें ।’
त्यतिबेला श्रमशोषण पनि अधिक भएको सीताराम बताउँछन् । बाख्रा र गाई स्याहारेबापत खाना र वर्षमा एकजोर कपडा मात्रै पाएको र कमैया बसेबापत वर्षमा ३० किलो धान पाएको सम्झिन्छन् उनी ।
गयारुवा भएदेखि नै उनी अन्य गयारुवाहरूलाई संगठित गर्न थाले । उनी आफूजस्तै २५ जना गयारुवाको मुख्य थिए । वनमा बनाइएको गोठको मल बेचेर पैसा जोहो गर्थे । त्यही पैसाले मासु किनेर खानपिन गरी रमाइलो गर्थे । बाँकी पैसा आपसी हितमा खर्च पनि गर्थे ।
सौकी लिएर विवाह
त्यसताका उनी साविक उर्मा गाविसस्थित ठग्गु प्रधानको घरमा कमैया बसे । जहाँ वार्षिक ४० किलो धान ज्यालाबापत पाउँथे । काम भने सबै गर्नुपर्ने हुन्थ्यो । २ वर्षपछि उनले ६० किलो धान पाउनुपर्ने माग राखे, जमिनदार सहमतिमा आए । उनी सोही मालिकको घरमा लगातार १४ वर्षसम्म कमैया बसे ।
‘मालिकसँग ९ हजार रुपैयाँ सौकी (ऋण) लिएर २०४८ सालमा साविक चौमाला गाविस–१ की जोख्नी डंगौरासँग बिहे गरें,’ सीतारामले युवा अवस्थाबारे बताउँदै भने, ‘३ सन्तान भए । ऋण लिएको ४ वर्षपछि ३२ हजार सौकी पुग्यो ।’
२०५२ ताका लुथरन भन्ने गैरसरकारी संस्थाले कमैयाको सवालमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्यो । सचेतनामा वृद्धि हुँदै गएपछि उनले घरको जायजेथा बिक्री गरी सौकी चुक्ता गरेको र कमैया बस्न छोडेको बताउँछन् । त्यसताका लुथरनको सहयोग तथा व्यक्तिगत प्रयासले उनीसहित ६३ जना कमैया मुक्ति भएको उनले बताए ।
कमैया बस्न छोडेपछि उनी ज्याला मजदुरी गर्ने र बाँकी समय गाउँमा कमैया मुक्ति अभियान चलाउन थाले । लुथरनको सहकार्यमा साविक चौमाला, गदरिया, उर्मा र फूलबारी गाविसहरूको अध्यक्ष समेत भए ।
२०५४ सालमा कमैया प्रथा उन्मूलन समाज स्थापना गरी आफैं अध्यक्ष भएर सीतारामले अभियान चलाए । उनकै नेतृत्वमा २०५५ माघमा साविक गदरिया गाविसका ७ जना कमैयाको १० हजारसम्मको सौकी (ऋण) मिनाही गरियो ।
कमैया आन्दोलन उत्कर्षमा पुग्यो । कमैयाको सवाल सडकदेखि सदनसम्म स्थान पायो । राष्ट्रिय मात्रै होइन, अन्तर्राष्ट्रिय मुद्धाको रुपमा स्थापित भयो । तत्कालीन सरकारले कमैया मुक्तिको घोषणा गर्न बाध्य भयो ।
कमैया आन्दोलनको दबाब स्वरूप सरकारले कमैयाको लगत संकलन गरी पुनःस्थापनाको कार्यक्रम बढायो । त्यसताका दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्ला सम्मिलित संघर्ष समितिका अध्यक्ष पनि सीताराम आफैं थिए ।
दाङमा ७०५, बाँके जिल्लामा १ हजार ९२१, बर्दियामा ११ हजार ५५१, कैलालीमा ८ हजार ९१० र कञ्चनपुरमा ४ हजार ४१८ गरी २६ हजार ७०५ जनाको लगत संकलन भयो ।
उनको संघर्षको कदर गर्दै २०६५ सालमा युनिभर्सल पीस फेडरेसनले उनलाई एम्बासडर फर पीस अवार्डबाट सम्मानित गरेको थियो ।