०७ साउन २०८३, बिहीबार

नेकपाले पहिरो पीडितको ६० घर निर्माण गर्ने

साउन १०, २०७७
नेकपाले पहिरो पीडितको ६० घर निर्माण गर्ने
फाइल फोटो।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मर्स्याङ्दी गाउँ कमिटीले पहिरो पीडितको घर निर्माण गर्ने भएको छ।

गाउँ कमिटीले श्रम शिविर सञ्चालन गरेर मर्स्याङ्दी गाउँपालिका–३ तरापु पल्लोटारीका पहिरो पीडितको घरटहरा निर्माण गर्ने निर्णय गरेको हो। 

गाउँ कमिटीका अध्यक्ष धनसिंह तामाङले भने, 'पहिरो पीडितहरुको घर निर्माणको लागि जस्तापाता, बाँस, काठपात प्रयोग गरी घर निर्माण गर्न पार्टी नेता तथा कार्यकर्तालाई तीन दिनसम्म श्रमशिविरमा खटाइने निर्णय गरेका छौँ।'

पहिरो पीडितको घर निर्माण गर्न उनीहरुको सहयोगका लागि प्रत्येक वडा कमिटी, शिक्षक संगठन, निजामती कर्मचारी सङ्गठनलाई आर्थिक सहयोग सङ्कलनको जिम्मा दिएको छ।

गाउँपालिकाको  वडा नं. १ लाई २५ हजार, वडा नं. २ लाई ५० हजार, वडा नं. ३ लाई ७५ हजार, वडा नं. ४ लाई २५ हजार, वडा नं. ५ लाई २५ हजार, वडा नं. ६ लाई २५ हजार, वडा नं. ७ लाई ५० हजार, वडा नं. ८ लाई ७५ हजार र वडा नं. ९ कमिटीलाई ७५ हजारका दरले सहयोग संकलन गर्न गाउँ कमिटीले जिम्मेवारी तोकेको पार्टीको गाउँ कमिटीका अध्यक्ष तामाङको भनाइ छ। 

उनका अनुसार शिक्षक सङ्गठनसँग रु एक लाख तथा निजामती कर्मचारी संगठनसँग २५ हजार सहयोगको अपेक्षा गरेका छौँ।

नेकपा गाउँ कमिटीले विपद् व्यवस्थापन समिति गठन गरी राहत वितरण तथा स्थानान्तरणको कार्य प्रभावकारी बनाउनुपर्ने भन्दै गाउँपालिकालाई अनुरोध गरेको छ।

पहिरो पीडितका लागि स्थायी बसोबासका लागि संघ, प्रदेश तथा स्थानीय सरकारसँग माग गरेको छ।

गत बुधबार र बिहीबार अर्थात ७ र ८ गते गरी आएको कपासेखोला पहिराेले यस पल्लोटारी गाउँका २१ घर पुरिएको थियो भने आठ घर आधा भत्केको छ।

अन्य ५३ वटा घरसमेत उच्च जोखिममा रहेका छन्। पहिराेबाट गाउँ नै विस्थापित भएको छ। 

कमेन्ट गर्नुहोस्