
पार्टी विभाजन भएमा नेतृत्वको राजनीतिक हैसियत समाप्त हुन्छ- बाँस्कोटा
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता गोकुलप्रसाद बाँस्कोटाले पार्टीमा एकले अर्काप्रति असहिष्णुता राखेमा एकतामा स्थायित्व नहुने बताएका छन्।
नेकपाका केन्द्रीय सदस्य बाँस्कोटाले मदन भण्डारी फाउण्डेसन काभ्रेपलाञ्चोकको जिल्ला भेलालाई शनिबार बनेपामा सम्बोधन गर्दै पार्टी विभाजन भएमा नेतृत्वको राजनीतिक हैसियत समाप्त हुने र जनताले पनि साथ नदिने बताए।
सांसद बाँस्कोटाले नेपालको इतिहासमा कम्युनिष्टले पहिलो पल्ट बहुमतको सरकार बनाएको जनाउँदै राष्ट्रिय सार्वभौमिकताका लागि एक भइरहन सबैलाई आग्रह गरे।
उनले प्रश्न गरे,'वर्तमान सरकारले गणतन्त्रलाई स्थायित्व गरिरहेका सन्दर्भमा यही बहुमतको सरकार हटाएर के भनी जनताको बीचमा जाने ?'
बाँस्कोटाले देश र जनताका बाँकी कार्यभार पूरा गर्न तथा भावी पुस्तालाई सबल पार्टीका रुपमा प्रस्तुत गर्नुपर्ने ठूलो चुनौती रहेको बताए। उनले भने, 'जननेता मदन भण्डारीले प्रतिपादन गरेको विचारलाई आत्मसात् गर्नुपर्छ, सबै समस्या हल हुँदै जान्छन् ।'
उनले भण्डारीको विचारलाई जनताको मनमनमा पु-याउनुपर्नेमा पनि जोड दिए।
सरकार कतै देखिएन, खोज्नुपर्ने अवस्था आयो- नेता कर्ण
जनता समाजवादी पार्टी, नेपालका नेता लक्ष्मणलाल कर्णले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने चेतावनी दिउका छन्।
‘अहिले सत्तारूढ दलभित्रैबाट अविश्वासको प्रस्ताव ल्याउने कुरा आइराखेको छ। यो सरकारको विकल्प खोज्नुपर्छ । लोककल्याणकारी सरकारको नितान्त आवश्यक भैसकेको छ । यसको लागि हामीले सोच बनाइसकेका छौं,’ शनिबार राजधानीमा आयोजित साक्षात्कारमा उनले भने।
सरकार छ कि छैन् भनेर खोज्ने अवस्था रहेको चित्रण गर्दै उनले भने, ‘यो सरकार कतैपनि देखिएन् । प्रत्येक वर्ष बाढीपहिरोको समस्या आउँछ। तर, यो सरकार के हेरेर बसेको छ? यो सरकार पाँच वर्ष नै चलोस भन्ने हाम्रो कल्पना हो । तर, यो सरकारको कुनै काम छैन् । यसले काम गर्न सकेन्।’
नेकपा फुटे मुलुककाे राष्ट्रियता नै संकटमा पर्छ, तर पार्टी विभाजन हुँदैन- प्रमुख सचेतक गुरुङ
सत्तासीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले राष्ट्रिय सहमतिका साथ अघि बढ्नुको अर्काे विकल्प नरहेको बताएका छन्।
शनिबार काठमाडाैंमा आयाेजित साक्षात्कारमा गुरुङले नेकपा फुट्दा नेपालको राष्ट्रियता नै संकटमा पर्ने खतरा रहेको र बहस तथा छलफल भएपनि पार्टीभित्र नफुट्ने दाबी गरे।
उनले भने, 'पार्टी विभाजन हुनुहुँदैन, पार्टी विभाजनको बाटोबाट जानुहुँदैन, विभाजनको बाटोबाट जानु भनेको के हो प्रजातन्त्र सिद्धिने बाटोमा जानु हो ।'
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले देशका विभिन्न स्थानमा भएको बाढीपहिरो, कोरोनाको महामारी, हत्या, हिंसा, बलात्कार, एसिड आक्रमणजस्ता घटना नियन्त्रणमा लाग्न सरकारलाई आग्रह गरे।
थप १०९ जनामा कोरोना पुष्टि, ७०.६% संक्रमित डिस्चार्ज
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमितको संख्या १०९ थप भएको छ ।
कोरोनाको राष्ट्रिय अद्यावधिक विवरण सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले थप १०९ जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।
नेपालमा हालसम्म कूल संक्रमितको संख्या १८ हजार ४८३ पुगेको प्रवक्ता गौतमले बताए । उनका अनुसार हालसम्मका संक्रमितमध्ये ७०.६ प्रतिशत व्यक्ति अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।
कोरोना संक्रमणपछि थप १ जनाको मृत्यु भएर मृतकको संख्या ४५ पुगेको प्रवक्ता गौतमले बताए । बारा जिल्लाको परवानीपुरकी १७ वर्षीया कोरोना संक्रमित महिलाको उपचारका क्रममा गण्डक कोभिड अस्पताल वीरगञ्जमा निधन भएको जनाइएको छ ।
जिल्लामा ५०० जनाभन्दा बढी सक्रिय संक्रमित रहेका ३ जिल्लामा रौतहट, कैलाली र बाजुरा रहेका जनाइएको छ । देशभर ६ जिल्ला सक्रिय संक्रमणमुक्त भइसकेका प्रवक्ता गौतमले बताए । सक्रिय संक्रमित शून्य हुने जिल्लामा पाँचथर, भोजपुर, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ रहेका छन् ।
लिम्पियाधुरा फर्काउन भन्नजस्तो सजिलो छैन, भन्न त सजिलो छ : मन्त्री ज्ञवाली
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले एकताबद्ध भएर हालै नक्सामा समेटिएको नेपाली भूभाग फर्काउनुपर्ने बताएका छन् ।
मदन भण्डारी फाउन्डेसन काभ्रेलाञ्चोकद्वारा आयोजित जिल्ला भेलालाई शनिवार बनेपामा सम्बोधन गर्दै उनले सिंगो देश एक ढिक्का भएर जमिन फर्काउन अघि बढ्नुपर्ने बताए ।
‘मित्रराष्ट्र भारतसँग एकताबद्ध भएर वार्ताको टेबुलबाट तथ्य, प्रमाणहरू सबै राखेर आफ्नो स्वामित्वलाई फर्काउनुपर्नेछ,’ उनले भने । वास्तविक नक्सा मात्र बनाएर मात्रै नहुने चर्चा गर्दै मन्त्री ज्ञवालीले जमिन फर्काउन भन्नजस्तो सजिलो नभएको जनाए ।
‘भन्न त सजिलो छ, नक्सा त जहिले छापे पनि हुन्थ्यो नि ! तर प्रक्रियागत ढंगले अघि बढ्नुपर्छ सफलतामा पक्कै पुगिन्छ,’ उनले भने ।
उनले वास्तविक नेपाली भूभागसहितको नक्सा जारी गर्न दह्रो मुटु भएको, राष्ट्रियताको लागि लड्ने एउटा नायक चाहिन्थ्यो, सोहीअनुसार जारी भएको दाबी गरे । ‘कुर्सी जेसुकै होस् तर म राष्ट्रियताका लागि लड्छु भन्ने हिम्मत, कुर्सीबाट हट्न परे पनि आफ्नो भूमि छोड्दिन भन्ने हिम्मत चाहिन्थ्यो,’ उनले भने ।
सिंगो देश एकताबद्ध भएकाले मात्रै नक्सा जारी सम्भव भएको पनि उनको धारणा थियो । उनले नक्सा अनुसारको संविधान संशोधन गरिएको क्षण यात्राको शुरूआत मात्रै भएको बताए । ‘जमिनलाई वास्तविकरूपमा भोगचलनमा ल्याउन धेरै काम गर्न बाँकी छ,’ उनले भने ।
मन्त्री ज्ञवालीले कोरोना भाइरस संक्रमण विरुद्धको लडाइँमा नेपाल दक्षिण एसियामै प्रभावकारी सफलता प्राप्त गरेको दाबी गरे । ‘दक्षिण एसियामा कोरोना विरुद्धको लडाइँमा नेपालले प्रभावकारी सफलता प्राप्त गरेको छ,’ उनले भने ।
उनले नेपाली कम्युनिस्ट आन्दोलनमा पुष्पलाल र मदन भण्डारी २ व्यक्तिको पार्टी स्थापना र प्रतिपादित सिद्धान्त जबजको बाटोमा नै अगाडि बढिरहेको बताए । उनले भने, ‘समाजवादको भविष्य उज्ज्वल छ भन्ने मार्गदर्शक नै हाम्रो पनि मार्गदर्शक हो ।’ पार्टी एकता जेठ ३ गते नै रोज्नुको कारण महत्त्वपूर्ण रहेको चर्चा गर्दै उनले एकता भूलचुकमा नभएको दाबी गरे ।