२४ जेठ २०८३, आइतबार

स्थायी कमिटी बैठक नरोक्ने प्रचण्ड-नेपालबीच समझदारी

स्थायी कमिटी बैठक नरोक्ने प्रचण्ड-नेपालबीच समझदारी

अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको सोमवार भेलामा स्थायी कमिटी बैठक नरोक्ने समझदारी भएको छ । अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठसहितका केही स्थायी कमिटी सदस्यहरू सोमवार प्रचण्डनिवास खुमलटारमा भेला भएका थिए ।

‘सहमतिका लागि आजसम्म भएका प्रयास कुनै सार्थक निष्कर्षमा पुग्न सकेको छैन, बैठकबाटै निकास खोजौं भन्ने सहमति भएको छ,’ आजको भेलामा सहभागी एक नेताले भने ।

स्रोतका अनुसार भोलिको बैठकका बारेमा कुराकानी गर्न आज प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता गर्ने तयारी गरेका छन् । 'आज दुवै अध्यक्षको भेटवार्ता हुने कार्यक्रम छ,' खुमलटारनिकट स्रोतले भन्यो ।

स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले भोलिका लागि तय भएको बैठक नरोक्ने कुरा पहिलादेखिकै सहमति भएको बताए । 'बैठक नरोक्ने सहमति त पुरानो हो, तर हेरौं भोलि के हुन्छ,' उनले भने । उनी आजको भेलामा भने सहभागी थिएनन् ।

असार १० गतेबाट शुरु स्थायी कमिटी बैठक पटक पटक स्थगित हुँदै आएको छ । असार १८ गतेदेखि स्थगित बैठक साउन ६ गते केहीबेर बसेर साउन १३ गते मंगलवारसम्मका लागि स्थगित भएको छ ।

साउन ६ गते बैठक स्थगित भएपछि ओली र प्रचण्डबीच एक पटक मात्र छलफल भएको छ । साउन ९ गते ओलीसँगको छलफलमा कुनै सहमति जुट्न नसकेपछि प्रचण्डले सोही दिन पार्टी समस्यामा रहेको बताएका थिए ।

कतिपय स्थायी कमिटी सदस्यहरू विवादको निरुपण कसरी हुन्छ भन्ने विषयमा आफैं अलमलमा परेका छन् । बैठकले नै विवादको निरुपण गर्ला भन्ने कतिपयलाई विश्वास छैन ।

'विधानतः दुवै अध्यक्षको सहमतिपछि मात्र कुनै पनि निर्णय कार्यान्वयन हुन्छ,' एक स्थायी कमिटी सदस्यले लोकान्तरसँग भने, 'अध्यक्ष ओली बैठकमा नआए निर्णय प्रक्रिया के हुन्छ भन्ने स्पष्ट छैन । यसका लागि दुवै अध्यक्षबीचको समझदारी अपरिहार्य देखिन्छ ।'

उनले आफू पनि मिडियाकै सूचनामा भर परेको बताए । 'तपाईंले केही थाहा पाउनुभयो भने भन्नुहोला,' लोकान्तरले स्थायी कमिटी बैठकका बारेमा गरेको प्रश्नको जवाफमा उनले भने, 'हामी पनि कुहिरोको काग बनेका छौं ।'

गत पुष्पलाल तथा नरबहादुर कर्माचार्यको स्मृतिदिवसका दिन अध्यक्ष प्रचण्डले ओलीलाई बैठक चल्दा चल्दै नेकपा एमाले दर्ता गर्न पहल गरेको आरोप लगाएका थिए ।

उनले पार्टी सधैं जुटेर मात्र अघि बढ्छ भनेर आदर्शवादी कुरा नसोच्न आग्रह गरे । उनको यो भनाइलाई कतिपय नेताहरूले नेकपाभित्रको मिल्न लागेको विवाद भाँडिएको अर्थमा लिएका छन् ।  

एक साताअघि बसेको सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले मङ्सिरमा अर्ली महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्ने प्रस्ताव गरेका थिए । ओलीको प्रस्तावमा प्रचण्डले सहमति जनाएपछि अध्यक्षद्वयबीच केही न केही समझदारी भएको अनुमान गरिएको थियो ।

सचिवालय बैठक सकेपछि त्यही दिन साँझ प्रचण्ड, ओली र अन्य केही नेताहरू राष्ट्रपतिनिवास शीतलनिवासमा भेला भए । तर त्यहाँ मिल्न लागेको विवाद नयाँ मोडमा प्रवेश गर्यो ।

जनताको बहुदलीय जनवाद र ओलीलाई सर्वोच्च नेता मान्ने शर्तमा मात्र प्रचण्डलाई नेतृत्व हस्तान्तरण गर्न सकिने भन्दै प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले बटमलाइन तय गरेपछि प्रचण्ड कुनै सहमति नगरी आफ्नो निवास फर्केका थिए ।

त्यसयता अध्यक्षद्वयबीच खासै भेटवार्ता भएको छैन । यता वरिष्ठ नेता नेपाल पक्षले भने महाधिवेशनसम्म प्रचण्डसँग सहकार्य गरेर जान सकिने निष्कर्ष निकालेको छ । नेता नेपालको साथ पाएपछि प्रचण्ड ओलीसँग पछि नहट्ने निष्कर्षमा पुगेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्