
अमेरिका र चीनबीच अनेकौं विषयमा विवाद रहेको बेलामा आइतवार एक अमेरिकी फाइटर जेटले शांघाई नजिक उडान गरेको चीनकै एक थिंकट्यांकले जानकारी दिएको छ ।
यो लडाकू विमान चीनको व्यापारिक शहरबाट १०० किलोमिटर मात्र टाढा थियो । तर चीनको परराष्ट्र वा रक्षा मन्त्रालयले यसमा आधिकारिक प्रतिक्रिया दिएका छैनन् ।
साउथ चाइना मर्निङ पोस्टले बेइजिङमा रहेको स्ट्राटेजिक सिचुएसन प्रोबिङ इनिसिएटिभ नामक थिंक ट्यांकको रिपोर्ट प्रकाशन गरेको हो । यो थिंक ट्यांक चिनियाँ सेनासँग जोडिएको छ र रणनीति बनाउन सहायता गर्छ ।
समाचारका अनुसार, अमेरिकी जलसेनाका पी–८ए र ईपी–३ई विमानहरू दक्षिण चीन सागरमा उड्दै जाँदा चीनको झजियाङ र फुजियान नजिक पुगेका थिए । यी फाइटर जेटहरू कुनै पनि पनडुब्बीलाई केही सेकेन्डभित्रै खोज्न सक्छन् र त्यसलाई क्षेप्यास्त्र प्रहार गरेर नष्ट गर्न सक्छन् ।
दक्षिण चीन सागरमा अमेरिकाले आक्रामक दृष्टिकोण अपनाइरहेको कुरा चिनियाँ थिंकट्यांकले बताएको छ । अमेरिकी जलसेनाका फाइटर जेटहरू उडिरहँदा दक्षिण चीन सागरका संवेदनशील क्षेत्रमा अमेरिकी युद्धपोत पनि अभ्यास गरिरहेका थिए ।