नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहका स्थायी कमिटी सदस्यहरूको मंगलवारको भेलाले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीसँग सहमति गरेर छिटोभन्दा छिटो स्थायी कमिटी बैठक बोलाउन प्रचण्डलाई जिम्मा दिएको छ ।
मंगलवार दिउँसो भएको प्रचण्ड–नेपाल समूहको भेलाले स्थायी कमिटीको औपचारिक बैठक अविलम्ब बोलाउन अध्यक्ष प्रचण्डलाई जिम्मा लगाएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
मंगलवारको भेलामा उपाध्यक्ष वामदेव गौतमले गुटगत भेला गर्न नहुने बताएका थिए ।
बैठकमा अध्यक्ष प्रचण्डले आजको बैठक स्थायी कमिटीको निरन्तता नभई स्थायी कमिटीका बहुमत सदस्यको बैठक भएको बताएका थिए ।
उनले पार्टी एकतालाई जोगाउन प्रयास भइरहेको समेत बताए ।
भेलामा प्रचण्ड, गौतमका अतिरिक्त भीम रावल, जनार्दन शर्मा र वर्षमान पुन लगायत स्थायी कमिटी सदस्यहरूले बोलेका थिए ।
प्रवक्ता श्रेष्ठले यस्तो भेला नबस्ने र औपचारिक बैठक मात्र बस्ने बताए ।