
मुलुकका विभिन्न जिल्लाबाट काठमाडौं उपत्यका भित्रने यात्रुहरूको पीसीआर टेस्टका लागि स्वाब संकलन शुरू भएको छ ।
मंगलवार अपराह्नसम्म नागढुंगाबाट २ हजार ९ सय १४, फर्पिङ नाकाबाट ९ सय ५५ र साँगाबाट ९ सय ४४ जनाको स्वाब संकलन गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलवार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
शनिवारदेखि स्वास्थ्य मन्त्रालयको पहलमा स्वाब संकलन शुरू भएको नाकामा खटिएकी स्वास्थ्यकर्मी जगदेश्वरी अवस्थीले बताइन् ।
‘शनिवारदेखि उपत्यकाका विभिन्न नाकामा स्वाब संकलन गर्न थालिएको छ,’ अवस्थीले लोकान्तरसँग भनिन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमका अनुसार हालसम्म ३ वटा नाकाबाट ४ हजार ८१३ जनाको स्वाब संकलन गरिएको छ ।
यात्रुहरू कहाँबाट आएका हुन्, उक्त जिल्लाको जोखिमको अवस्था हेरेर स्वाब संकलन गरिएको छ । स्वाब दिन अनिवार्य नगरिए पनि सबैले स्वाब दिएको अवस्थीको भनाइ छ ।
उपत्यका छिर्ने मुख्य नाका नागढुंगामा मात्रै ३ दिनमा करीब ३ हजार जनाको स्वाब संकलन गरिएको महानगरीय प्रहरी वृत्त थानकोटका वृत्तपछि घनश्याम श्रेष्ठले बताए ।
स्वास्थ्य मन्त्रालयले उपत्यका छिर्ने १० हजार जनाको पहिलो चरणमा कोरोना परीक्षण गर्न लागेको छ ।
नागढुंगाबाट पैदल आउने व्यक्तिहरूको पनि स्वाब संकलन भइरहेको छ ।
‘पैदल आउने मानिसहरूलाई पनि आग्रह गरेका छौं । परीक्षण गर्न इच्छा गर्नु भएकाले परीक्षण गराउनु भएको छ, नमान्नेलाई करकाप गरेका छैनौं,’ स्वास्थ्यकर्मी अवस्थीले भनिन् ।