०१ साउन २०८३, शुक्रबार

प्रचण्ड-नेपाल समूहको बालुवाटार भेला– कसले के बोले ?

प्रचण्ड-नेपाल समूहको बालुवाटार भेला– कसले के बोले ?

मंगलवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अचम्मको दृश्य देखियो ।

प्रधानमन्त्रीसमेत रहेका सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी ओलीले एकलौटी ढंगले स्थायी कमिटी बैठक स्थगित गरेको भन्दै प्रचण्ड-नेपाल समूहका स्थायी कमिटी सदस्यहरूले भेला गरे ।

ओलीको आँगनमै भएको २ जना आमन्त्रित सहित ३१ जना स्थायी कमिटी सदस्यहरूको भेलालाई ओलीले 'गुटगत' भेलाको संज्ञा दिएका थिए ।

पटक-पटक स्थगित भएको स्थायी कमिटीको बैठक मंगलवार ११ बजे बालुवाटारमा गर्ने तय भएको थियो ।

अधिकांश स्थायी कमिटीका सदस्यहरूले आफू बालुवाटार आउँदाआउँदै बाटैमा बैठक स्थगित भएको सूचना पाए । 'अर्को सूचना नआएसम्म स्थायी कमिटी बैठक स्थगित' भनेर नेताहरूको मोबाइलमा म्यासेज गएको थियो ।

प्रचण्ड-नेपाल समूहका एक स्थायी कमिटी सदस्य भन्छन्, 'बैठक स्थगित गर्ने सूचना एकतर्फी रूपमा आयो । अध्यक्षद्वयबीच संवाद र सहमतिका लागि थप समय चाहिने भन्दै बैठक स्थगित गरिएको सूचना पाएपछि हामीले थप बुझ्यौँ । यताबाट बैठक स्थगित हुँदैन तपाईंहरू आउनुहोस् भन्ने खबर आयो र हामी बालुवाटार आयौं ।'

बालुवाटारमा शीर्ष नेताहरू पुगिसकेका थिए । अधिकांश स्थायी कमिटी सदस्यहरू पनि पुगिसकेका थिए । अध्यक्ष प्रचण्ड भने १५ मिनेट ढिलो पुगे । एउटा अध्यक्ष ओलीतिरबाट बैठक स्थगित भएको सूचना पाउनु र अर्को अध्यक्ष प्रचण्ड बालुवाटारमा आउन ढिलो गर्नुले प्रचण्ड-नेपाल समूहका स्थायी कमिटी सदस्यहरूमा थप बेचैनी बढेको थियो ।

करीब साढे ११ बजे सबै बैठक हलमा छिरे । तर के गर्ने, बैठक कहाँबाट शुरू गर्ने भन्ने प्रश्न कायमै थियो । सधैंजस्तो आजको बैठक थिएन । केही नेताहरूले अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनाललाई प्रधानमन्त्रीसँग गएर कुराकानी गर्न आग्रह गरेपछि दुवै नेताहरू ओलीको कार्यकक्षतिर लागे ।

प्रचण्ड र खनालले गरेको ओलीसँगको छलफल पनि सौहार्दपूर्ण देखिएन । 'मैले मेरो तर्फबाट बैठक स्थगित गरिसकें,' ओलीको भनाई उद्धृत गर्दै स्रोतले लोकान्तरसँग भन्यो, 'तपाईंहरू जे गर्ने हो, जसो गर्ने हो गर्नुस् । हुन त तपाईंहरू अन्त पनि यस्ता भेलाहरू गर्दै हिँड्नुहुन्छ । आज पनि तपाईंहरूको त्यस्तै हो ।'

प्रचण्ड र खनालको प्रश्न थियो - 'स्थायी कमिटी बैठक बोलाउने र स्थगित गर्ने निश्चित विधि र प्रक्रिया हुन्छन्, तपाईले एकतर्फी रूपमा किन रोक्नुभयो ?'

ओलीको जवाफबाट असन्तुष्ट अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता खनाल बैठक हलमै फर्किए । त्यसपछि बैठक शुरू भएको सूचना बाहिर दिइयो ।

'अध्यक्ष र वरिष्ठ नेता खनाल फर्किसक्नुभएको छ,' स्थायी सदस्य लीलामणि पोखरेलले लोकान्तरसँग भनेका थिए, 'अब बैठक शुरू हुन्छ ।'

त्यति नै बेला प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा 'जुगल'ले बैठक शुरू भएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखे ।

उत्तेजित नबनौँ - प्रचण्ड

बैठकमा फर्किएपछि प्रचण्डले ब्रिफिङ गरे, 'हामीले आजको स्थायी कमिटी बैठक नरोकौँ, धेरै सदस्यहरूबाट बैठक राख्न दबाब आएको छ भनेर प्रधानमन्त्रीलाई आग्रह गर्‍यौं । हामीले बरू बैठकका एजेण्डाअनुसार नै छलफल गरौँ र बाँकी विषय सचिवालयको बैठकमा छलफल गरेर एउटा निष्कर्षमा पुगौंला भनेका थियौं । तर प्रधानमन्त्रीले मान्नुभएन । मैले स्थगित गरिसकेँ, तपाईंहरू जे सुकै गर्नुस् भनेर भन्नुभयो, जुन राम्रो भएन ।'

सम्बोधनकै क्रममा प्रचण्डले पार्टी एक रहने र कुनै पनि नेता उत्तेजित भएर बाहिर बोल्न नहुने सुझावसमेत स्थायी कमिटी सदस्यहरूलाई दिएका थिए ।

'यसलाई स्थायी कमिटी बैठकको निरन्तरताका रूपमा बाहिर लिएर नजाऔँ, यसले थप विग्रह पैदा गर्न सक्छ,' प्रचण्डको भनाइ उद्धृत गर्दै एक स्थायी कमिटी सदस्यले लोकान्तरसँग भने, 'यसलाई बहुमत सदस्यहरूको भेला मात्र भनौं । थप संवाद र सहमतिका लागि हामी अझ बढी प्रयास गर्नेछौं ।'

मध्यमार्गी विकल्पमा जाऔँ - उपाध्यक्ष वामदेव गौतम

प्रचण्ड बोलिसकेपछि उपाध्यक्ष वामदेव गौतमले यसरी अलग भेला गर्दा पार्टी एकता तोडिएको सन्देश जाने बताए ।

'यसरी अलग भेला गर्नु हुँदैन, यो भेला हो र यसलाई बैठक बदल्नु पनि हुँदैन,’ गौतमको भनाइ उदृत गर्दै स्रोतले लोकान्तरसँग भन्यो, ‘पार्टी एकता जोगाउने हो भने मैले आज बिहान दुवै अध्यक्षसमक्ष पेश गरेको प्रस्तावलाई आधार मानेर अघि बढौँ ।'

उनले पार्टी एकता कसका कारण खतरामा पर्‍यो भन्दै प्रश्न समेत गरेका थिए । दुई अध्यक्षबीचको  लडाईंमा आफू बीचमा नपर्ने उनको भनाइ थियो । यति धारणा राखेपछि गौतम भेलाबाट बाहिरिए । 

मंगलवार बिहान गौतमले पार्टीको विग्रह रोक्नका लागि भन्दै ६ बुँदे सहमतिको प्रस्ताव सार्वजनिक गरेका थिए ।

 गौतमले प्रधानमन्त्रीका दैनन्दिनका कामहरूमा पार्टीले हस्तक्षेप नगर्ने, सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वका विषयमा निर्णय गर्नुपूर्व पार्टीको सचिवालयमा परामर्श गर्ने, प्रशासन तथा सुरक्षा निकायका कर्मचारीको पदोन्नति र सरुवाका लागि मापदण्ड निश्चित गरी कार्यान्वयन गर्ने लगायतका मध्यमार्गी प्रस्तावहरू पेश गरेका थिए ।

दुई अध्यक्ष मिलेर मात्र समस्या समाधान हुन्न - भीम रावल 

स्थायी कमिटी सदस्य भीम रावलले पार्टीभित्र देखिएको गतिरोध दुई अध्यक्षको मात्र कुरा नभएकाले विधिसम्मत निकास खोज्न आग्रह गरे । उनले दुई अध्यक्ष मिल्दैमा पार्टीले निकास नपाउने बताए ।

‘दुई अध्यक्षको मात्र कुरा होइन, पार्टीलाई विधि, सिद्धान्त, मूल्य र मान्यताका आधारमा छलफल र निकास खोज्ने सन्दर्भको लडाईं हो,’ रावलको भनाइ उद्धृत गर्दै भेलामा सहभागी एक स्थायी कमिटी सदस्यले भने, ‘नीति र सिद्धान्तका आधारमा पार्टी नचल्दा समस्या हुन्छ ।'

उनले नेकपा विवाद दुईवटा अध्यक्षबीचको मात्र लडाईं नभएको भन्दै सोही अनुसार निकास खोज्नुपर्ने बताए । यति भनेर रावल पनि भेलाबाट बाहिरिए ।

अव्यवस्थित भेला !

भेलामा सहभागी एक स्थायी कमिटी सदस्यले बैठक अनौपचारिक जस्तो भएको लोकान्तरलाई बताए ।

'को कतिबेला बोल्ने भन्ने कुनै व्यवस्था थिएन,' उनले भने, 'एक हिसाबले हो-हल्ला जस्तो थियो । केही नेताहरूले बोल्न चाहिरहनुभएको थियो, तर कसरी, के विषयमा र कतिबेला बोल्ने भन्ने कुनै व्यवस्था थिएन ।'

उपाध्यक्ष गौतम र स्थायी कमिटी सदस्य रावल बोलेर बाहिरिएपछि जनार्दन शर्मा केही बोल्न खोजेका थिए ।

'हो-हल्ला भएकाले जनार्दन कमरेडले बोलेको खासै बुझिएन, तर उहाँले पनि पार्टी एकतालाई तोड्ने काम नगर्न शीर्ष नेताहरूलाई आग्रह गर्नुभएको थियो,' ती स्थायी कमिटी सदस्यले भने ।

भेलाको २ निर्णय

भेला सकिएपछि बालुवाटार परिसरमा पत्रकारसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले छिटो स्थायी कमिटी बैठक राख्ने पहलकदमी गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको बताए ।

'यस अप्ठ्यारो परिस्थितिमा पार्टीको एकता र विधि र परम्परालाई ध्यानमा राखी अर्का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरी बैठक सुचारू गर्न पार्टी अध्यक्ष प्रचण्डलाई जिम्मेवारी दिने निर्णय बैठकले गर्‍यो', श्रेष्ठले भने ।

उनले भेलाले दुईवटा निर्णय गरेको सुनाउँदै थपे, 'अध्यक्ष कमरेड केपी ओलीले बैठक स्थगित भएको सूचना प्रसारित गर्नु उचित नभएको ठहर आजको भेलाले गरेको छ । आजको स्थायी कमिटीको बैठकको मिति र समय यसअघिकै स्थायी कमिटीको बैठकले निर्णय गरेको थियो ।'

... र बदलिएको नेकपाको समीकरण

प्रधानमन्त्री ओलीका पक्षमा स्थायी कमिटीमा बहुमत नपुगे पनि ओलीइतर समूहका नेताहरूको धारणा बाझिएको छ ।

उपाध्यक्ष गौतमले प्रधानमन्त्रीको राजीनामा नमाग्ने स्पष्ट लाइन लिएका छन् । आजको भेलामा आपूर्तिमन्त्री लेखराज भट्ट पनि सहभागी भएका थिएनन् ।

गत वैशाखको तेस्रो साताजस्तै अहिले सचिवालयमा ओलीको पक्षमा बहुमत जुटेको टिप्पणी भइरहेका छन् ।

ओली पक्षका एक नेताले लोकान्तरसँग भने, 'उहाँ (प्रचण्ड-माधव)हरूले आफ्नो वास्तविक शक्ति जान्न खोज्नुभएको थियो, देख्नुभयो होला । यसरी कहीँ पनि पुगिँदैन ।'

यद्यपि पार्टी एकताका लागि अन्तिमसम्म पहलकदमी गर्ने भन्दै भेलाबाट छुटेका प्रचण्ड र महाधिवेशनबाट मात्र नेतृत्व हस्तान्तरण गर्ने अडानमा रहेका ओलीले संवादको शुरूआत र निरन्तरता कसरी गर्छन् भन्ने कुराले नेकपाको भविष्य तय गर्छ ।

salt training

कमेन्ट गर्नुहोस्