
समाजवादी पार्टीको समानुपातिक कोटाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित लीला सिटौलाले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।
सिटौलालाई सभामुख अग्निप्रसाद सापकोटाले बुधवार सिंहदरबारमा आयोजित विशेष कार्यक्रमका बीच पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
नयाँ नक्सासहितको निशान छाप संविधानमा समावेश गर्नका लागि भएको मतदान सहभागी नभई पार्टीको ह्वीप उल्लंघन गरेपछि बर्खास्तगीमा परेकी सरिता गिरीको स्थानमा सिटौलालाई निर्वाचित गरिएको घोषणा निर्वाचन आयोगले सोमवार गरेको थियो ।
आफूलाई अन्यायपूर्ण ढंगले हटाइएको भन्दै सरिता गिरीले दायर गरेको रिटमा अन्तरिम आदेश जारी गर्न सर्वोच्चले अस्वीकार गरेपछि नयाँ सांसद चयनका लागि बाटो खुलेको थियो ।
समानुपातिकतर्फ खस-आर्य कोटाबाट सिटौलालाई सांसद बनाउन समाजवादी पार्टीले निर्वाचन आयोगलाई सिफारिस गरेको थियो ।
समाजवादी र राजपाबीच एकता भएर जनता समाजवादी दल दर्ता भइसके पनि संसद्मा भने एउटै दलको मान्यता पाउन बाँकी छ ।