
पार्टीभित्र देखिएको विवाद समाधानका लागि छलफल गर्न अविलम्ब केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का एक चौथाइ सदस्यले अध्यक्षलाई हस्ताक्षर बुझाउने तयारी गरेका छन् ।
हस्ताक्षर गर्नेमा अधिकांश अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर सदस्य छन् ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दर्ता गराएर हस्ताक्षरको एक–एक प्रति अध्यक्षद्वयलाई बुझाउने तयारी केन्द्रीय सदस्यहरूले गरेका छन् । केन्द्रीय सदस्य निरज आचार्यले आजै पार्टी कार्यालयमा दर्ता गराई अध्यक्षद्वयलाई समेत हस्ताक्षर बुझाउने तयारी रहेको लोकान्तरलाई जानकारी दिए ।
१ सय ३५ जनाभन्दा बढी सदस्यले केन्द्रीय कमिटी बैठक बोलाउन मागसहित हस्ताक्षर गरेको केन्द्रीय सदस्य चुडामणि जंगली विश्वकर्माले जानकारी दिए ।
स्थायी कमिटी बैठकले निकास दिन नसकेको भन्दै विजय पौडेल, ठाकुर गैरे, रामकुमारी झाँक्री लगायतको नेतृत्वमा केन्द्रीय सदस्यहरूले हस्ताक्षर अभियान सञ्चालन गरेका थिए ।
नेकपाको अन्तरिम विधान २०७५ को दफा ५९ को उपदफा ४ मा एक चौथाइ सदस्यले हस्ताक्षर गरेर बैठक बोलाउन माग गरेमा एक महिनाभित्र केन्द्रीय कमिटी बैठक बोलाउनुपर्ने व्यवस्था छ ।
पार्टी एकता भएपछि गत माघ महिनामा पहिलोपटक नेकपाको बैठक बसेको थियो ।
केन्द्रीय कमिटी बोलाउनका लागि नेकपामा तत्काल कायम रहेका ४ सय ४४ जना केन्द्रीय सदस्यको एक चौथाइ अर्थात् १ सय १२ जनाको हस्ताक्षर आवश्यक हुन्छ ।