०४ साउन २०८३, सोमबार

निर्मला हत्या प्रकरणको २ वर्षपछि ८ प्रहरीले पाए सफाइ

साउन १५, २०७७
निर्मला हत्या प्रकरणको २ वर्षपछि ८ प्रहरीले पाए सफाइ

निर्मला पन्तको बलात्कार पछि भएको हत्या अनुसन्धान मुद्दा खेपिरहेका ८ जना प्रहरी अधिकारीले जिल्ला अदालत कञ्चनपुरबाट सफाइ पाएका छन् । 

२०७५ साल साउन ११ गते कञ्चपुरकी १३ बर्षीया पन्तको हत्या पछि तत्कालिन जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज विष्ट, केन्द्रीय अनुसन्धान व्यूरोबाट गएका प्रहरी नायब उपरीक्षक (डीएसपी) अंगुर जिसी, अर्का डीएसपी ज्ञाबहादुर सेठी, इन्स्पेक्टरद्वय एकीन्द्रबहादुर खड्का र जगदिसप्रसाद भट्ट, प्रहरी नायब निरीक्षक (सई)द्धय हरसिंह धामी र रामसिंह धामी र जवान चाँदनी साउदलाई आज (बिहीवार) जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश गोपाल प्रसाद बास्तोलाको इजलासले सफाइ दिएको हो । 

उनीहरुमाथि निर्मला हत्यामा प्रकरणमा पक्राउ परेकालाई यातना दिएको र हत्याको प्रमाण नष्ट गरेको अभियोगमा मुद्दा परेको थियो । 

उनीहरुलाई निर्मलाकी आमा दुर्गा पन्तले प्रमाण नष्ट गरेको उजुरी दिएकी थिइन् भने दीपिलसिंह विष्टलाई यातना दिएको भन्दै उनका दाजु खड्कसिंहले प्रहरीमा उजुरी दिएका थिए । 

एसपी दिल्लीराज विष्टलाई चैत ५ मा यातना दिएको ६ लाख र प्रमाण नष्ट गरेकोमा साढे ४ लाख गरी कूल साढे १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न जिल्ला अदालतले आदेश दिएको थियो । 

यस्तै डीएसपी ज्ञानबहादुर सेठी र इन्स्पेक्टर एकीन्द्रबहादुर खड्कालाई यातना दिएको र प्रमाण नष्ट गरेको भन्दै जनही ९ लाख रुपैयाँ माग गरेको थियो । पहिलो पटक घटना स्थलमा जाने इन्स्पेक्टर जगदीशप्रसाद भट्टलाई ४ लाख, सई हरसिंह धामीलाई साढे ३ लाख, सालघारी प्रहरी पोष्टका प्रमुख सइ रामसिंह धामीलाई ३ लाख र जवान चाँदनी साउदलाई साढे २ लाख रुपैया धरौटी मागिएको थियो ।

त्यसपछि उनीहरु निलम्बनमा परेका थिए । अब जिल्ला अदालत कञ्चनपुरको सफाई पछि उनीहरु प्रक्रिया पूरा गरेर सेवामा फर्किन पाउनेछन् ।

प्रहरीबाटै गल्ती भएको तत्कालीन आईजीपीको बयान 

तत्कालीन आईजीपी सर्वेन्द्र खनालले हतारमा नतिजा खोज्दा प्रहरीबाट केही गल्ती भएको स्वीकारेका थिए ।

आईजीपी खनालले संसदको एक समितिमा बोल्दै प्रहरीबाट केही गल्ती भएको बताएका थिए ।

अनुसन्धानका क्रममा थुप्रै व्यक्तिलाई पक्राउ गर्ने क्रममा प्रहरीले दीपिलसिंह विष्टपछि २०७५ मंसिर २३ गते कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ का प्रदीप रावल र विशाल चौधरीलाई पक्राउ गरेको थियो । 

घटनाको अनुसन्धान गरिरहेको प्रहरीले निर्मलाको हत्यामा संलग्न अभियुक्त ‘नजिक’ पुगिसकेको बताएको थियो तर पछि उनीहरू पनि अभियुक्त नभएको भन्दै छाडिए ।

salt training

कमेन्ट गर्नुहोस्