
पछिल्लो केही दिनयता निकै चर्चा र चासोको केन्द्रमा रहेको सुन प्रकरणमा नयाँ ट्विस्ट देखा परेको छ ।
मंगलवार कमलादी मोडमा प्रहरीले १५ किलो पहेँलो धातु बरामद गरको थियो, त्यसमध्ये आधा किलो सुन र बाँकी साढे १४ किलो सुनको जलप लगाएको चाँदी रहेको भनी पछि सार्वजनिक गरिएको थियो ।
उक्त अपरेसनमा संलग्न एक प्रहरी जवान प्रसन्न श्रेष्ठको बूढानीलकण्ठस्थित डेरामा सुनजस्तै देखिने १ किलो पहेँलो धातु भेटिएपछि घटनामा नयाँ मोड आउन सक्ने देखिएको हो ।
‘सुनजस्तो देखिने एउटा ढिक्का फेला परेको हो, अहिले परीक्षणका लागि पठाएका छौं,’ महानगरीय प्रहरी कार्यलयका प्रवक्ता एसएसपी सुशीलकुमार यादवले बताए ।
उक्त धातु सुन पुष्टि भएमा अनुसन्धानले निकै ठूलो फड्को मार्ने निश्चित छ ।
झोला फालेको हैन, प्रहरीको हातमा !
कमलादी चोकमा चेकजाँचका क्रममा फालेर गएको भनिएको सेतो झोला फालेको नभएर प्रहरी जवानको हातमा दिएको नयाँ तथ्य पनि फेला परेको छ ।
छानबिन समितिका एक सदस्यका अनुसार पक्राउ परेका अभियुक्तले बयानमा झोला फालेको नभएर महानगरीय प्रहरी वृत्त दरबारमार्गका प्रहरी जवान बहादुरसिंह कडायतलाई हातमा दिएको बताएका छन् ।
‘घटनास्थलको सीसीटीभी फूटेज हेर्दा पनि चालक कडायतलाई दिएको पुष्टि हुन्छ,’ ती सदस्यले लोकान्तरसँग भने ।
कडायत दरबागरमार्ग प्रहरीको सीआरभी टोलीका चालक हुन् । शुक्रवार डेरामा 'सुन' भेटिएका प्रहरी जवान श्रेष्ठ पनि दरबारमार्गमै कार्यरत छन् ।
प्रहरीले ३ भारतीय नागरिक देवान पटेल, विजय पटेल र निलेश सखियालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
पक्राउ परेकाहरूले दिएको बयानमा मुख्य योजनाकार अर्कै रहेको तथ्य पनि खुलेको छ । मुख्य योजनाकार भारतका मोस्ट वान्टेड इल्ताफ हुसेन अन्सारी रहेको उनीहरूले बताएका छन् ।
‘अनुसन्धानमा मुख्य नाइके भने अर्कै भएको फेला परेको छ,’ ती सदस्यले भने, ‘भारतमा वान्टेड रहेका इल्ताफ हुसेन अन्सारी मुख्य योजनाकार रहेको भनी उनीहरूले बयान दिएका छन् ।’
अन्सारी नक्कली नोट कारोवारका नाइके भनिँदै आएका युनिस अन्सारी समूहका सदस्य पनि रहेको खुलेको छ ।
युनिस अन्सारीलाई नक्कली भारू नोट कारोवारमा २०६७ जेष्ठ २६ मा दोषी ठहर गरी ललितपुर जिल्ला अदालतले जेल चलान गरेको थियो ।
मंगलवार (१३ गते) कमलादी मोडमा चेकजाँचका क्रममा बा६च ५५१९ नम्बरको स्कोर्पियोबाट झोला फालेर भागेको भनी महानगरीय प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गरी जानकारी दिएको थियो ।
फालेको झोलामा सुन बरामद भएको भनिएको थियो, तर पछि परीक्षण गर्दा साढे आधा किलो सुन र बाँकी साढे १५ किलो सुनको जलप लगाएको चाँदी रहेको पुष्टि भएको भनिएको थियो ।
प्रहरीले पिछा गर्दागर्दै स्कोर्पियो भागेको बताएको थियो । तर स्कोर्पियो कसरी भाग्यो भनेर चौतर्फी विरोध भएपछि महानगरीय प्रहरी कार्यालयले पहिला महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाको संयोजकत्वमा ५ सदस्य टोली गठन गरेको थियो ।
पछि परिसरका प्रमुख एसएसपी श्यामलाल ज्ञवाली र एसएसपी थापाबीच तालमेल नमिलेको भन्दै महानगरीय प्रहरी कार्यलयका प्रवक्ता एसएसपी सुशीलकुमार यादवको संयोजकत्वमा समिति गठन भएको थियो ।
उक्त समितिले अनुसन्धान सकिसकेको प्रहरी स्रोतले जनाएको छ ।
भागेको भनिएको बा६च ५५१९ नम्बरको स्कोर्पियो हिजो (बिहीवार) ललितपुरको नख्खीपोटको एउटा घरबाट फेला परिसकेको छ ।
महानगरीय प्रहरी वृत्त दरबारमार्गका वृत्तपति रञ्जन दाहाललाई जिम्मेवारीबाट हटाइएको छ ।
दरबारमार्गका अन्य प्रहरी पनि संलग्न हुनसक्ने भन्दै उनीहरूलाई अनुसन्धानको घेरामा ल्याइएको छ ।
सुन तस्कर पुन: सक्रिय भएको आशंका
सुन तस्करीमा ठूलै गिरोह फेरि सक्रिय भएको निष्कर्ष प्रहरीले निकालेको छ ।
लकडाउन प्रहरीको ध्यान त्यसतर्फ नजाने अनुमानमा सुन तस्करहरू फेरि सक्रिय भएको हुनसक्ने प्रहरीको आंकलन छ ।
पक्राउ परेका तीनै जनामाथि अनुसन्धान गर्दा उनीहरू यसभन्दा अगाडि पनि अपराधमा संलग्न भएको तथ्य खुल्न आएको अनुसन्धानमा संलग्न एक अधिकारीले बताए ।
‘उनीहरू यसभन्दा अगाडि पनि तस्करीमा संलग्न भएको देखिएको छ, तर के कस्ता अपराधमा थिए हामी अनुसन्धान गर्दैछौं,’ ती अधिकारीले लोकान्तरसँग भने ।