०६ साउन २०८३, बुधबार
स्वास्थ्य सेवा

कोरोना महामारीसँगको युद्धलाई अवसरमा बदल्ने यी कलिला नर्स

साउन १७, २०७७
कोरोना महामारीसँगको युद्धलाई अवसरमा बदल्ने यी कलिला नर्स

कोरोना महामारी (कोभिड–१९) ले धेरै नेपालीको रोजगारी गुमाइदिएको छ । महामारीको उपचारमा खटिनुपर्ने बेला केही निजी स्वास्थ्य संस्थाले कोरोनाको जोखिम हुने भन्दै बिरामीलाई ढोका बन्द गरेर स्वास्थ्यकर्मीलाई समेत बिदा गरे ।

तर नर्सिङ क्षेत्रको अध्ययन (बीएस्सी नर्सिङ, एचए, स्टार्फ नर्स अध्ययन पूरा) गरेर रोजगार नपाएर घरमै बसेकाहरूले जोखिम मोलेरै यतिबेला देशको सेवा कामको अवसर पाए ।

कोरोना भाइरस संक्रमितको उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल मातहत सञ्चालनमा रहेको धागो कारखानाको कोरोना विशेष अस्थायी अस्पतालमा धेरै नयाँ नर्सहरू छन् । कम उमेरका उनीहरू कोरोना युद्धलाई अवसरको रुपमा लिएर रातदिन निर्धक्क संक्रमितको सेवामा जुटेका हुन् । कोभिड अस्पतालमा ९० प्रतिशत नयाँ नर्सहरू आईसीयू/भेन्टिलेटरमा संक्रमितको स्याहारसुसारमा खटिएका छन् ।

सानो छोरा छाडेर आईसीयूमा संक्रमितको उपचारमा खटिएकी लक्ष्मी

अध्यनन पूरा भएलगत्तै उनको बच्चा (छोरा) जन्मियो । बुटवलकी लक्ष्मी ज्ञवाली काठमाडौंस्थित होम इन्टरनेसनल कलेजबाट २०७३ सालमा बीएस्सी नर्सिङ ‘पास आउट’ हुन् । जागिर खोज्ने भन्दाभन्दै बच्चा सानै भएकाले लक्ष्मी आफैंले पनि त्यति इच्छा देखाइनन् । 

यो वर्ष चाहिँ जागिर गर्नुपर्छ भन्ने उनको सोच बलियो हुँदै गएको थियो । कोभिड–१९ को महामारी उनलाई अवसर बनेर आयो । प्रादेशिक अस्पतालले कोभिड–१९ अस्पतालका लागि नर्सको माग गर्‍यो । लक्ष्मी त्यो अवसर नगुमाउने सोच बनाइन् । 

उनले पठाइ पूरा गरेको पनि ३ वर्ष भइसकेको थियो । यति लामो समयसम्म खाली बसेपछि महामारीका बेला किन जागिर चाहिएको होला भनेर उनलाई आफन्तहरूले प्रश्न गरिराख्थे तर आफ्नो दृढ चाहना र परिवारले पनि पूर्ण साथ दिएपछि उनले जागिरका लागि आवेदन दिइन् । उनी छनोट भइन् र वैशाख १ गतेदेखि लक्ष्मीको ‘ड्युटी’ शुरू भयो ।

नर्सको जागिर उनका लागि पहिलो थियो । उत्साह, रहर र मनमा कोरोनाको त्रास पनि । शुरूका केही दिन धागो कारखानाको कोभिड अस्पतालमा बिरामी थिएनन् । त्यहाँ कार्यरत नर्सहरूलाई बिरामी आउँदैन होला जस्तो पनि लाग्यो । जब पहिलो संक्रमित व्यक्ति अस्पताल आए, त्राससँगै लक्ष्मीसहित अन्य नर्सहरू सर्तक भएर निकक्क तयारी अवस्थामा रहे । २७ वर्षिया लक्ष्मी अस्पतालको आईसीयूको ग्रूप इन्चार्ज पनि हुन् ।

लक्ष्मी भन्छिन्, ‘शुरूमा केही त्रास देखिए पनि अहिले सहज रुपमा काम गरेका छौं । अहिले त मनमा केही आशंका पनि छैन । अझै महामारीले जागिर जुराइदिएजस्तो पनि भयो मलाई । त्रास विना सहज रूपमा आईसीयूमा काम गरेका छौं ।’

अस्पतालको आईसीयूमा उपचारपछि १५ जना निको भएर घर फर्किसकेका छन् भने २ जना अस्पतालमै छन् । ३ वर्षको छोरालाई छाडेर उनी अस्पतालमा बिरामीको सेवा गरेर होटलमा बस्छिन् ।

आईसीयूमा रहेका संक्रमित बिरामीलाई खाना खुवाउनेदेखि सरसफाई गर्न पनि पछि पर्दैनन् नर्सहरू । लक्ष्मी भन्छिन्, ‘आफूले सुरक्षाका उपकरण लगाएर काम गरेपछि धेरै डर लाग्दैन । क्वारेन्टीन बसेर कोरोनाको रिपोर्ट नेगेटिभ आएपछि बल्ल घर जान्छु, महिनाको एक पटक बच्चा भेट्न पाइन्छ ।’ आईसीयूमा काम गर्ने नर्सहरूको सेवा देखेर बिरामी पनि खुशी हुने गरेका छन् ।

‘शुरूमा आईसीयूमा आएका २ जना कपिलवस्तु र दाङका व्यक्तिको अवस्था जटिल थियो । उनीहरूको उपचार खटेका थियौं । संक्रमितको उपचारमा खटिँदा मनमा त्राससँगै सेवालाई अवसरको रुपमा लियौं,’ उनले भनिन् । जोखिममा काम गर्ने स्वास्थ्यकर्मीमाथि राज्यबाट खासै ध्यान नपुगेको ज्ञवालीको गुनासो छ । 

फेसबूक ग्रूपमा भेटिएको आवश्यकताले जुराइदिएको जागिर

मानिसको जीवन सोचजस्तो हुँदैन भन्ने भनाइ नै छ, त्यस्तै भएको छ बुटवलको कोरोना विशेष अस्पतालमा कार्यरत स्टाफ नर्स रीया थापाको पनि । काठमाडौंमा जन्म, बालापन र अध्ययन पूरा गरेकी थापा कोरोना महामारीको बेला कहिल्यै नदेखेको ठाउँमा एक्लै बसेर जागिर गरिरहेकी छन् । स्टार एकेडेमीबाट स्टार्फ नर्स उत्तीर्ण गरेकी थापाले केही महिना काठमाडौंस्थित स्टार हस्पिटल प्रालिमा स्वयंसेवी भएर काम गरिन् । त्यहाँ कामबाट केही अनुभव पनि सिकिन् ।

कोरोना भाइरस चीनबाट फैलिएर अमेरिका हुँदै भारतमा पनि संक्रमण बढ्दै गएको थियो । २२ वर्षीया रीयालाई जागिरको आवश्यकता पनि थियो । १ दिन साथीले बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा नर्सहरूको मागसहित आवश्यकताको सूचना कलेज पढ्ने साथीहरूको फेसबूक ग्रूपमा पोस्ट गरिन् ।

‘साथीहरू जागिर खाने इच्छा भए बुटवल जाऔं’ भनेर ग्रूपमा ती साथीले लेखिन् । रीयाको मनमा ‘जाउँ कि नजाउँ’ भन्ने कुरा खेलिरह्यो । उनले बुवाआमासँग पनि सल्लाह गरिन् । अभिभावक पनि दोधारमा परे । रीयाले बीएनको आयोग लड्नका लागि पनि १ वर्षको अनुभव आवश्यकता पर्थ्यो । उनले मन दह्रो बनाइन् । गत चैत ७ गते रीयाले बुटवलको यात्रा तय गरिन् । काठमाडौंको कीर्तिपुरकी रीयालाई बुटवल नौलो थियो ।

प्रादेशिक अस्पतालले धागो कारखानालाई कोभिड–१९ अस्पतालको रूपमा स्तरोन्नति गरेको थियो । भारतसँग सीमा नाका जोडिएको प्रदेश ५ भारतमा संक्रमण बढेसँगै कोरोनाको बढी जोखिममा थियो । त्यही भएर १०० शय्याको अस्थायी अस्पताल छुट्टै ठाउँमा बनाउने निर्णय गरी थप २० जना स्वास्थ्यकर्मी/नर्सको माग गरिएको थियो ।

सरकारले चैत ११ गतेदेखि देशलाई लकडाउन गरिरहेको थियो । राम्रो अंक ल्याएर उत्तीर्ण गरेकी उनलाई अस्पतालले अन्तर्वार्ताका लागि आउन भन्यो । उनी चैत १० गते प्रादेशिक अस्पतालमा अन्तर्वार्ता दिन पुगिन् । त्यहाँ अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. राजेन्द्र खनाल, वरिष्ठ कन्सल्टेन्ट डा. सुदर्शन थापा, अस्पतालका नर्सिङ इन्चार्ज ज्योति पौडेल लगायतको टीम थियो । अन्तर्वार्ता दिइन् । १ हप्तापछि नतिजा आयो । रीया पनि करारका लागि छनौट भइन् । अन्तर्वार्तापछि रीयालाई भनिएको थियो, ‘तपाईं कोभिड–१९ अस्पतालमा पनि काम गर्नुपर्छ ।’ 

कोरोनाको त्रास सबैतिर थियो । डाक्टर, नर्स, स्वास्थ्यकर्मीमा पनि त्रास थियो । छनोटमा परेपछि बुवाआमाले पनि आफू सुरक्षित भएर काम गर्नू, डराउनु हुँदैन भनेर हौसला दिए । जोखिमसँगै चुनौतीलाई अवसरमा बदलेर काम गर्ने आँट र साहस बटुलिन् उनले । बुवाले उनलाई तिलोत्तमाको योगिकुटीस्थित एक घरमा डेरा खोजिदिएर काठमाडौं फर्किए । नयाँ ठाउँ, जोखिम बढी र नयाँ अवसरलाई सहज बनाउँदै वैशाख १ गतेदेखि उनी काममा खटिन थालिन् ।

शुरूको चरणमा उनीहरू अस्पताल जाने–आउने मात्र भयो । अन्य ठाउँमा संक्रमित बिरामी भेटिए पनि प्रदेश ५ मा संक्रमित भेटिएका थिएनन् । वैशाख १९ गते रुपन्देहीको कोटहीमाईका एक व्यक्तिमा कोरोना देखियो । उनलाई रीया कार्यरत धागो कारखानामा ल्याइयो । उनीहरूको मनमा डरत्रास पनि देखियो । 

उनी भन्छिन्, ‘शुरूमा कोरोना संक्रमित आएपछि डर लाग्यो, संक्रमित बिरामी कस्ता होलान् भन्ने लागेको थियो तर बिरामीको हेरचाह र आवश्यक काउन्सिलिङ गर्दै गएपछि डर हराउँदै गयो । अहिले आउँदा त केही डर नै छैन । नर्मल अस्पतालमा काम गरे जस्तै हुन्छ ।’

बुटवल अस्पतालमा कोरोना संक्रमितले नृत्य गरिरहेको भिडियो रीयाले नै खिचेकी थिइन् । जुन भिडियो भाइरल बनेको थियो । त्यो भिडियोले कोरोना संक्रमण पनि खुशी हुन र रमाउन सक्छन् भन्ने सकारात्मक सन्देश प्रवाह गरेको थियो । उनी भन्छिन्, ‘भिडियो मैले खिचें तर त्यो भिडियो मिडियामार्फत बाहिर जाँदा डर लाग्यो तर भिडियो बाहिर जाँदा पोजेटिभ म्यासेज गयो ।’ महामारीको समयमा स्वास्थ्यकर्मीलाई राज्यले प्रोत्साहन गर्नुपर्ने र स्वास्थ्यकर्मीले जोखिमपूर्ण क्षेत्रमा डर नमानी राम्रो योगदान दिनुपर्ने उनको बुझाइ छ ।

उनीसहित अन्य नर्सहरू अस्पतालमा आउने संक्रमितलाई परामर्श दिन्छन् । ‘कोरोना केही पनि होइन । निको हुन्छ । डराउनु पर्दैन । केही समस्या भए हामीलाइ खबर गर्नुहोहोला । अस्पतालको शय्याबाट सीसी क्यामेरामा हात हल्लाउनुहोला । नत्र हलमा माइकको व्यवस्था छ, माइकमार्फत पनि खबर गर्दा हुन्छ भन्छौं । त्यति भनेपछि संक्रमितको आत्मबल बलियो हुने रहेछ,’ रीया भन्छिन् । अस्पतालमा बिरामीलाई भिटामिन सी भएका खानेकुरा दिने गरिन्छ ।

रीयाले डेरा लिए पनि ३ महिना भयो डेरामा बसेकी छैनन् । पहिलोपटक बुटवल आएकी उनी घर जान पाएकी छैनन् । उनी १४ दिन अस्पतालको नियमित ड्युटी गर्छिन्, त्यसपछि १४ दिन होटलमा क्वारेन्टीनमा बस्छिन् । उनी सहितको समूहलाई अस्पतालले पार्क प्लाजा होटलमा बस्ने व्यवस्था गरेको छ । ‘जीवन यस्तो हुने रहेछ । कहिल्यै नदेखेको, कल्पना नगरेको ठाउँमा एक्लै आएर कोरोना माहामारीमा काम गरें,’ उनले भनिन् ।

शुरूमा उनलाई व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) लगाउने ज्ञान पनि थिएन । अस्पतालले तालिम दियो । अहिले उनी सहजै पीपीई लगाउन र फुकाल्न सक्छिन् । पीपीई लगाएर ६ घण्टासम्म काम गर्दा साह्रै गाह्रो हुने रीयाको भनाइ छ । जोखिमपूर्ण काम गर्ने स्वास्थ्यकर्मीलाई राज्यले भत्ता दिने बताए पनि धागो कारखानामा काम गर्ने स्वास्थ्यकर्मीले भत्ता पाउन सकेका छैनन् । राज्यले स्वास्थ्यकर्मी र चिकित्सकलाई शतप्रतिशत जोखिम भत्ता दिने बताएको थियो । कोरोनाका बिरामीको उपचारमा काम गराउन भर्ना गरिएका करारका नर्सहरूलाई अस्पतालको दरबन्दीमा राखिनुपर्ने रीयाको माग छ ।

अन्यत्रभन्दा संक्रमित बिरामीको उपचार गर्न सजिलो

रूपन्देहीको तिलोत्तमा–४ की मनिषा राना कोभिड महामारी शुरू हुनुपूर्व बुटवलकै एक निजी मेडिटेक हस्पिटल प्रालिमा काम गर्थिन् । ३ वर्षअघि पाल्पाको लुम्बिनी मेडिकल कलेजबाट बीएस्सी नर्सिङ उत्तीर्ण गरेकी रानाले मेडिटेक हस्पिटलमा काम गर्न थालेको ९ महिना भएको थियो । त्यसअघि उनले १ वर्ष बाग्लुङको धौलागिरी प्राविधिक कलेजमा पनि अध्यापन गरेकी थिइन् । त्यसपछि उनले काठमाडौंमा आईसीयू सम्बन्धी तालिम पनि लिइन् ।

काम गर्दागर्दै कोरोनाको महामारी आइपुग्यो । प्रादेशिक अस्पतालले नर्सिङ स्टार्फ माग गर्‍यो । कोरोनाको जोखिम नै भए पनि पाएसम्म निजीभन्दा सरकारी अस्पतालमै काम गर्ने उनको सोच थियो । नभन्दै उनी छनोटमा परिन् र वैशाख १ गतेदेखि दैनिक ड्युटीमा खटिइन् ।

अस्पतालको आईसीयूमा कपिलवस्तु र दाङका कोरोना संक्रमित बेहोस अवस्थामा आए । उनी सहितको नर्सको टीम र चिकित्सकहरू उपचारमा खटिए । अन्य अस्पतालमा जस्तो कोभिड अस्पतालमा जटिल अवस्थाका बिरामीको रेखदेखमा बिरामीका आफन्त जान पाइँदैन । राना भन्छिन्, ‘संक्रमित बिरामीलाई खाना खुवाउनेदेखि शौचालय पुर्‍याउने, सरसफाइको काम हामीले गरेका छौं/गर्नुपर्छ ।’

मनिषालाई पनि महामारीमा कोरोना अस्पतालमा काम गर्न घरबाट सहजै साथ थिएन । २४ वर्षीया उनले अप्ठ्यारो परिस्थितिमा देशलाई साथ दिनुपर्ने भनेर परिवारलाई सम्झाइन् । डाक्टर र नर्सहरूले सुरक्षित मापदण्ड अपनाएर काम गरेपछि सुरक्षित भइन्छ भनेर विश्वास दिलाइन् । छोरीले सम्झाएपछि परिवार ढुक्क भए । अस्पतालमा ८ शय्या आईसीयूका छन् । मनिषा पनि आईसीयूको ग्रूप इन्चार्ज हुन् ।

मसिना भन्छिन्, ‘४ महिना पुगेपछि त हामी कोरोनासँग अभ्यस्त भइसक्यौं । अन्य जस्तो पनि मानिस र बिरामीलाई जोखिम मोलेर काम गर्नुभन्दा संक्रमित भएकाको उपचारमा खटिँदा सुरक्षित भइन्छ जस्तो लाग्दै गएको छ ।’ 

आईसीयूमा लामो समयसम्म काम गर्दा गाह्रो हुने अनुभव छ उनको । अप्ठ्यारो अवस्थामा कति पनि दुःख नमानेर नर्सहरू उपचारमा खटिएका छन । ९ घण्टासम्म पीपीई लगाएर काम गर्दा शौचालय जान पनि पाइँदैन । कोरोनासँग जुध्दा नयाँ अनुभव सिकेको नर्सहरूको अनुभव छ । कोरोनाका लागि भर्ना लिएको अस्पतालले महामारीपछि पनि नर्सहरूलाई कुनै ठाउँमा व्यवस्थापन गर्नुपर्ने कोभिड अस्पतालमा काम गर्ने नर्सको माग छ ।

यो रिपोर्ट फ्रीडम फोरमको सहकार्यमा तयार भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्