
राष्ट्रपति बनेदेखि नै डोनल्ड ट्रम्पले अमेरिकालाई साझेदारहरूबाट टाढा बनाउँदै लगेका छन् ।
यसैक्रममा उनले जर्मनीबाट लगभग १२ हजार अमेरिकी सैनिक फिर्ता बोलाउने घोषणा गरेका छन् ।
अमेरिका र जर्मनीबीचको सुमधुर सम्बन्ध अहिले बिग्रँदै गएको छ र ट्रम्प पुनः राष्ट्रपतिमा निर्वाचित भए भने सम्बन्धको गन्तव्यको कुनै टुंगो लाग्ने छैन ।
उनका ट्वीटहरू हेर्ने हो भने उनी जर्मनीलाई दण्ड दिन खोजिरहेको देखिन्छ ।
उनले रुससँग ऊर्जा किनेको र नाटोमा आर्थिक योगदान गर्न आनाकानी गरेको विषयलाई लिएर जर्मनीलाई घेरेका हुन् ।
जर्मन संसदमा परराष्ट्र मामिला समितका अध्यक्ष नोरबर्ट रोएटगेनले बुधवार ट्वीट गरे, ‘नाटोलाई सुदृढ बनाउनुको साटो यस कदमले कमजोर बनाउँछ । अमेरिकाको सैन्य शक्ति यसले वृद्धि गर्दैन बरू रुसको तुलनामा घटाउँछ ।’
बाभेरिया राज्यका गभर्नर मार्कस सोएडरले पनि ट्रम्पको आलोचना गर्दै लेखे, ‘दुर्भाग्यवश यसले जर्मनी र अमेरिकाको सम्बन्धमा गम्भीर आघात पुर्याउँछ । यसबाट कुनै सैन्य लाभ हुने देखिँदैन । नाटो र अमेरिकालाई यसले कमजोर बनाउँछ ।’
अमेरिकाको यस कदमले रुस चाहिँ गदगद छ । क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले भने, ‘युरोपमा जति कम अमेरिकी सैनिक हुन्छन्, त्यति ऊ शान्त हुन्छ ।’
ट्रम्पले क्रेमलिनलाई खुशी बनाउनका लागि लगातार काम गर्दै आएका छन् ।
ट्रम्पले चीन र इरानमाथिको प्रतिबन्धलाई थप कसिलो बनाउन मित्रहरूको खोजी गरिरहेको बेलामा असुरक्षित अनुभव गरेको युरोपले राष्ट्रिय सुरक्षा तथा व्यापारलाई सहज हुने सुरक्षित सम्बन्ध खोजिरहेको छ । र त्यस्तो सम्बन्ध अमेरिकासँग नहुन सक्छ ।
सीएनएनबाट