
न्यायाधीशको सम्पत्ति छानबिन गर्न र पेशी स्वचालित प्रणालीमा तोक्न बार एशोसिएशनको माग
नेपाल बार एशोसिएशनले सर्वाेच्च अदालतका प्रधानन्यायाधीशको ध्यानाकर्षण गराउँदै सबै न्यायाधीशको सम्पत्ति पारदर्शी रूपमा छानबिन गर्न माग गरेको छ ।
सोमवार बारले बुझाएको ध्यानाकर्षण पत्रको १४ नम्बर बुँदामा लेखिएको छ, ‘न्यायाधीश र नेपाल बार एशोसिएशनका पदाधिकारीको सम्पत्ति पारदर्शी रूपमा छानबिन गरी सार्वजनिक गर्ने व्यवस्था मिलाइयोस् ।’
बारले न्यायालयमा सुधारका लागि तत्काल गर्नुपर्ने काम समेटेर १७ बुँदे सुझाव दिएको छ । न्याय क्षेत्र सुधारका लागि पटक–पटक सुझाव दिँदै आएकोमा कार्यान्वयन नभएको जनाउँदै बारले दीर्घकालीन सुधारका लागि एक विशेष आयोग वा समिति गठन गर्नुपर्ने सुझाव दिएको छ ।
तत्काल गर्नुपर्ने सुधारको १ नम्बर बुँदामा लेखिएको छ, ‘पेशी सूची तोक्ने, प्रकाशन गर्ने सम्बन्धमा १ (एक) महिनाभित्रै विद्युतीय स्वचालित प्रणालीमार्फत पेशी तोक्ने व्यवस्था लागू गरियोस् ।’
उच्च र सर्वाेच्च अदालतमा नियुक्त भएका केही न्यायाधीशमा पद अनुसारको अनुभव र ज्ञान नभएको गुनासो आएको जनाउँदै बारले त्यस्ता न्यायाधीशलाई न्याय परिषद्मा हाजिर गराई तालिम, प्रशिक्षण र अध्ययन व्यवस्था मिलाउन समेत सुझाव दिएको छ ।
पछिल्लो २४ घण्टामा साढे ८ हजार पीसीआर परीक्षण, ३ सय ३८ संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ३ सय ३८ मा कोरोना संक्रमण देखिएको जनाएको छ ।
सोमवार नियमित प्रेस ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ८ हजार ४ सय ३२ पीसीआर परीक्षण गरिएको र त्यसमध्ये ३ सय ३८ मा संक्रमण देखिएको बताएका हुन् ।
पछिल्लो २४ घण्टामा १ सय ४० डिस्चार्ज भएका छन् ।
यससँगै नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ७ सय ३८ रहेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ४४ जनामा संक्रमण देखिएको उनले बताए ।
डा. गौतमका अनुसार काठमाडौँ जिल्लामा ३६, भक्तपुरमा ४ र ललितपुरमा ४ जना नयाँ संक्रमित फेला परेका छन् ।
कोरोनाका कारण नेपालमा थप ४ को मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ का कारण पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको जनाएको छ ।
सोमवार नियमित मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाका कारण ४ जनाको मृत्यु भएको र हालसम्म मृतकको संख्या ७९ पुगेको बताएका हुन् ।
मृत्यु हुनेमा २ महिला र २ पुरुष छन् ।
डा. गौतमले बाँकेको कोहलपुर बस्ने ७० वर्षीया महिला, पर्सा जिल्लाकी ४५ वर्षीया महिला, काठमाडौँ महानगरपालिका वडा नम्बर १० बस्ने ७६ वर्षीय पुरुष र किर्तिपुर नगरपालिका बस्ने ६४ वर्षीय पुरुषको मृत्यु भएको बताए ।
यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७९ पुगेको छ ।
अध्यागमनले गर्यो भिसा सेवा अनिश्चितकालका लागि बन्द
अध्यागमन विभागले अनिश्चितकालका भिसा सेवा बन्द गरेको छ ।
सोमवार एक विज्ञप्ति जारी गर्दै विभागको कार्यालयले सोमवारदेखि लागू हुने गरी अर्को सूचना नआउने बेलासम्म सेवा स्थगित गरिएको जनाएको हो ।
'कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गरी यस विभागबाट नियमित रूपमा हुँदै आएको भिसा सेवा सोमवारबाट अर्को सूचना नभएसम्मका लागि स्थगित गरिन्छ,' विज्ञप्तिमा भनिएको छ ।
अत्यन्त जरुरी काम परेको अवस्थामा भने कार्यालयका अधिकृत कुलशेखर अर्याल, पवनकुमार गुप्ता र मधुसुधन भट्टराईलाई सम्पर्क गर्न सकिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।