
गोंगबु हत्याकाण्डको पर्दा खुलेको छ ।
प्रहरीले घटनामा संलग्न रहेको आशंकामा पक्राउ गरेको महिलाले अपराध स्वीकारेपछि शव पहिचान भएको भोलिपल्टै घटनाको यथार्थ बाहिर आएको हो ।
हत्यामा संलग्न कल्पना मुडभरी पौडेललाई महानगरीय प्रहरी परिसर काठमाडौंले मंगलवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
प्रहरीसँगको बयानमा पौडेलले आफ्नो अपराध स्वीकारेकी छन् ।
नक्कली फेसबूक अकाउन्ट बनाएर निर्वस्त्र तस्वीरहरू पठाउने गरेकाले कोठामा बोलाएर हत्या गरेको बयान उनले दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले पत्रकार सम्मेलनमा दिए ।
खाने कुरामा स्लिपिङ ट्याबलेट राखेर खुवाएको र त्यसपछि अण्डकोषमा हानेर मारेको उनले बताएकी छन् ।
शव व्यवस्थापनमा भने छोरीले पनि सघाएको बयान उनले दिएको प्रहरीले जनाएको छ ।
गोंगबुमा टाउको र खुट्टाविनाको शव सुटकेशमा भेटिएको थियो । सुटकेशमा शव नआटाएपछि टाउको र खुट्टा काटेको उनले बताएकी छन् ।
टाउको र खुट्टा भने जेब्रा झोलामा अर्कै स्थानमा भेटिएको थियो । शरीर भेटिएपछि टाउको भने प्रहरीको जोजो नामक कुकुरले पत्ता लगाएको थियो ।
शवको सनाखत हुन नसकेपछि प्रहरीले फोटो नै सार्वजनिक गरेको थियो । त्यसपछि शव दाङका कृष्णबहादुर बोहोराको भएको खुलेको थियो ।
सनाखत भएकै दिन प्रहरीले मुडभरीलाई पक्राउ गरेको थियो ।