
दैलेखको दुल्लुमा छाउगोठमा बसेकी महिला छारे रोगले आगोमा खसेर घाइते भएकी छन् ।
दुल्लु नगरपालिका–६ कुसाकोटकी वसन्ती विकको शरीरको बायाँ भाग जलेको छ । घाइते विकको कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा निःशुल्क उपचार भइरहेको छ ।
छारे रोगका कारण आगोमा ढलेर घाइते भएका उनका छोरा रुपेन्द्र विकले जानकारी दिए । लोकान्तरसँग कुुरा गर्दै उनले गत असार ८ गते घटना भएको भए पनि गाउँमा झारफुक र जडिबुटी उपचार गर्दा घाउमा किरा परेपछि असार १६ गते कालागाउँ अस्पतालमा ल्याएको बताए ।
‘हामीले शुरूमा त्यहाँका निजी अस्पतालमा उपचार गर्न लगेका थियौं,’ रुपेन्द्रले भने, त्यहाँ निको हुने नदेखिएपछि सुर्खेतमा ल्याएका हौैं । यहाँका डाक्टर सा’पले निःशुल्क अपरेसन गरिदिनुभएको छ ।’
दलित परिवारको आर्थिक अवस्था अत्यन्तै नाजुक रहेको थाहा पाएपछि निःशुल्क उपचार गरिएको अस्पतालका निर्देशक डा. डम्बर खड्काले जानकारी दिए । डा. खड्काका अनुसार उनको अपरेसन सफल भइसकेको छ ।