०७ साउन २०८३, बिहीबार

रुसको परराष्ट्र मन्त्रालयकी प्रवक्ता जाखारोभाको कडा बोलीले खिच्यो सबैको ध्यान

साउन २८, २०७७
रुसको परराष्ट्र मन्त्रालयकी प्रवक्ता जाखारोभाको कडा बोलीले खिच्यो सबैको ध्यान

रुसको परराष्ट्र मन्त्रालयमा पहिलो महिला प्रवक्ताका रूपमा मारिया जाखारोभाले पाँच वर्ष बिताइसकेकी छन् । उनले कडा बोलीका कारण अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएकी छन् । 

दिनहुँ गरिने पत्रकार सम्मेलनमा जाखारोभाले नघुमाइकन कुरा राख्ने गरेकी छन् । 

उनलाई बीबीसीले संसारका शीर्ष १०० प्रेरणादायी तथा प्रभावशाली महिलाको सूचीमा राखेको छ । उनले प्रेस रूम बाहिरको जीवन पनि संसारलाई देखाएकी छन् । सन् २०१६ मा रुस–आसियान शिखर सम्मेलनमा गण्यमान्य

व्यक्तिहरूका अगाडि परम्परागत कालिन्का लोकनृत्य प्रस्तुत गरेकी थिइन् र त्यसको भिडियो संसारलाई देखाउन उनी धक मान्दिनन् । 

रुसको परराष्ट्रनीतिका चासोका विषयको प्रतिरक्षा गर्दा उनी कुरा चपाउँदिनन् । सिरिया, युक्रेन, स्क्रिपाल घटना र कुख्यात रसियागेटका विषयमा उनी स्पष्ट धारणा राख्छिन् । 

सन् २०१६ को फेब्रुअरी महिनामा अमेरिकाको परराष्ट्र मन्त्रालयका उपप्रवक्ता मार्क टोनरले सिरिया शान्ति सम्झौताका विषयमा रुसलाई स्वीकार गर्न वा चुप लाग्न भनेका थिए । त्यस्तो गैरकूटनीतिक भाषा प्रयोग गरेकोमा

जाखारोभाले कडा जवाफ फर्काउँदै ‘तिमीहरूको कूटनीतिक सञ्चार यस्तै किसिमको हुन्छ भने आफ्नै सहकर्मीलाई चुप लाग्न भन’ मार्क भनेकी थिइन् । 

अमेरिकाको मूलधारे सञ्चारमाध्यमलाई झूटो खबर नफैलाउन उनले सीधै भनेकी छन् । 
 

जाखारोभालाई कवितामा पनि रुचि छ । सन् २०१६ को मे महिनामा एक पत्रकार सम्मेलनका क्रममा उनले कवितालाई कूटनीतिक साधन बनाउँदै रोबर्ट बर्न्सको कवितालाई अलिक तोडमरोड गरेर प्रस्तुत गरेकी थिइन् । 

जस्तालाई त्यस्तै जवाफ फर्काउनुका अतिरिक्त जाखारोभाले कलात्मक नृत्य समेत प्रस्तुत गर्ने गरेकी छन् । सन् २०१८ को अगस्ट महिनामा सर्बियामा भएको ५८औं ब्रास ब्यान्ड फेस्टिभलमा उनले बाल्कन संगीतमा कम्मर हल्लाएको भिडियो चर्चित बनेको थियो । 

त्यसको एक वर्षपछि उनले ककेसिया क्षेत्रको परम्परागत नृत्य लेजगिन्का उत्तरी ककेसस क्षेत्रमा प्रस्तुत गरेकी थिइन् । 
 

कमेन्ट गर्नुहोस्