बलात्कारको आरोप लागेका नेकपा स्याङ्जा चापाकोट नगरकमिटीका सचिव राजु कोइरालाले आफ्नो चरित्र हत्या गर्न नियोजित रूपमा हल्ला फैल्याएको भन्दै आपत्ति प्रकट गरेका छन् ।
उनलाई केही दिनअघि बोटेटारकी एक दलित महिलालाई बलात्कार गरेको र घटना लुकाउन ५ लाख नगदसमेत दिएको भन्दै केही अनलाइनमा समाचारहरू प्रकाशित भएका थिए ।
बुधवार एक विज्ञप्ति जारी गर्दै कोइरालाले भनेका छन्, ‘घट्दै नघटेको घटनालाई लिएर व्यक्ति र पार्टी राजनीतिलाई असर पुर्याउने निहित उद्देश्यका साथ चरित्र हत्या गर्ने उद्देश्यले सामाजिक संजालबाट काल्पनिक घटना निर्माण गर्ने काम भएको छ ।’
उनले अफवाह अफवाहमा फ़ैल्याइएको बाहेक अहिलेसम्म कसैले पनि कोही पीडित भएको भन्दै सम्बन्धित निकायमा उजुरी दर्ता नगरेको दाबी गरे ।
‘नियोजित रूपमा चरित्र हत्यामा उत्रिएका व्यक्तिहरू विरुद्ध सम्बन्धित कार्यालयमा उजुरी दर्ता गराएका छौं,’ उनले भनेका छन्, ‘सामाजिक सञ्जालमा फ़ैल्याइएको कुरा गलत भएको जानकारी गराउँदै सही र यथार्थ खोज र कारवाहीमा सहयोग गरिदिन आम समुदायमा हार्दिक अपील गर्दछु ।’