२९ जेठ २०८३, शुक्रबार

लकडाउनपछि कर्णाली प्रदेशमा समातिए १३ विप्लव कार्यकर्ता

साउन २९, २०७७
लकडाउनपछि कर्णाली प्रदेशमा समातिए  १३ विप्लव कार्यकर्ता

कर्णाली प्रदेश प्रहरी कार्यालयले कोरोनाको लकडाउन पछि प्रतिबन्धित नेकपा माओवादी विप्लव समूहका १३ जना कार्यकर्ता पक्राउ गरेको छ ।  

लकडाउन पछि मात्रै प्रदेश प्रदेश प्रहरी कार्यालय मातहत रहेका जिल्ला प्रहरी कार्यालयहरूले कर्णालीका १३ जना विप्लव कार्यकर्ता पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ वास्तोलाले लोकान्तरलाई जानकारी दिए ।

 उनका अनुसार सुर्खेतबाट दुई, दैलेखबाट एक, सल्यानबाट दुई, रुकुम पश्चिमबाट चार, जुम्लाबाट तीन र डोल्पाबाट एकजनालाई प्रहरीले पक्राउ गरिएको हो ।

सुर्खेत भेरीगंगा नगरपालिका–९ जहरेका ४८ वर्षीय कर्णबहादुर विसी र ४२ वर्षीय सहवीर महर पक्राउ परेका छन् । उनका अनुसार विसी र महर जिल्ला कमिटी सदस्य हुन् । 

उनीहरूको साथबाट विभिन्न किसिमका दस्ताबेज, निर्माण व्यवसायी तथा कन्ट्रक्सनलाई आर्थिक सहयोगको लागि लेखिएका पत्र र रकम असुल गरेका अर्धकट्टीसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । 

रुकुम पश्चिमका जिल्ला सेक्रेटरीसहित विप्लवका चारजना कार्यकर्ता आठवीसकोट नगरपालिका–९, राडीबजारबाट पक्राउ परेका छन् । मुसीकोट नगरपालिका–६ का ३९ वर्षीय जिल्ला सेक्रेटरी हिरामणि रावल, नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष प्रेमप्रशान्त बोहरा, नेकपाका जिल्ला कमिटी सदस्य घमण्ड महर र कार्यकर्ता तुलबहादुर घर्ती पक्राउ परेका छन् ।

दैलेखबाट आठवीस नगरपालिका–६, का ३० वर्षीय उदय विक पक्राउ परेका छन् । मुगु सोरु गाउँपालिका–६, घर भएका जिल्ला सेक्रेटरी ३७ वर्षीय उदय भनिने रामबहादुर भाम, जुम्ला हिमा गाउँपालिका–७, घर भएका जिल्ला सदस्य २९ वर्षीय नन्द तिवारी र सोही गाउँपालिकाकी १६ वर्षीया सपना बुढा जुम्लास्थित तिला गाउँपालिका–७, गोडेगाउँबाट पक्राउ परेका छन् ।

उनका अनुसार जुम्ला गोठीचौर गाउँपालिका–१, का २९ वर्षीय सूर्य महतारा डोल्पास्थित जगदुल्ला गाउँपालिका–१, हुरिकोटबाट पक्राउ परेका छन् । सल्यान बागचौर नगरपालिका–४, का २३ वर्षीय मोहन केसी र सोही नगरपालिका–२, का २३ वर्षीय सेजन चन्द सल्यानबाट पक्राउ परेको प्रहरीले जनाएको छ । 

एसएसपी वास्तोलाका अनुसार पक्राउ परेकामध्ये सल्यानबाट एकजनालाई छाडिएको छ भने दैलेखका एक, सल्यानका एक, रुकुम पश्चिमका चार र डोल्पाका एकजनालाई मुद्दा दर्ता गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्