
जिल्ला प्रहरी कार्यालय सुर्खेतले गएराति ठूलो धनराशिको सुन बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलीले वीरेन्द्रनगर वडा नं. २ मुलपानीबाट अन्दाजी ६ करोड बराबर मूल्यको सुन बरामद गरेको हो ।
सुन बरामद गरेको नौ घण्टा बित्दा पनि प्रहरीले सुन सार्वजनिक नगर्दा सामाजिक सञ्जालमा प्रहरीको चर्को आलोचना भइरहेको छ ।
यता जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीलाई सम्पर्क गर्दा उनको फोन उठेन । यो सँगै जिल्ला प्रहरी कार्यालयले सुन बारेमा जानकारी दिन आनाकानी गरेको पाइएको हो ।
प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम एसएसपी राजेशनाथ वास्तोलाले जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट आधिकारीक रुपमा के कति सुन समातिएको हो जानकारी नआएको बताए ।
यद्यपी ठूलो मात्रामा सुनका बाला, औंठीहरू भने बरामद भएको खबर सुनेको उनको भनाइ छ । उनलाई लोकान्तरले कहिले सार्वजनिक हुन्छ भनेर सोध्दा यसबारेमा जिल्ला प्रहरी कार्यालय सुर्खेतसँग कुरा गर्ने बताए ।