
जर्मनीले उपनिवेशकालमा गरेको सामूहिक हत्याका लागि एक करोड युरो बराबरको क्षतिपूर्तिलाई नामिबियाले अस्वीकार गरेको छ । यसमा पुनरवलोकन गर्नुपर्ने उसको भनाइ छ ।
नामिबियाका राष्ट्रपति हेग गाइनगोबले जर्मनीले सामूहिक हत्याका लागि दिएको क्षतिपूर्ति अस्वीकार्य भएको बताए ।
जर्मनहरूले नामिबियामा दशौं हजार आदिवासी हेरेरो र नामाहरूलाई सन् १९०४ देखि १९०८ सम्म सामूहिक हत्या गरेका थिए । बीसौं शताब्दीको पहिलो नरसंहारका रूपमा त्यसलाई लिइन्छ ।
सन् २०१५ मा दुई देशले एक सहमतिका लागि कुराकानी थालेका थिए जसमा जर्मनीले क्षमादान गर्ने र विकास सहायता उपलब्ध गराउने व्यवस्था थियो ।
नामिबिया सरकारका विशेष दूत जेड न्गाभिरुएले सम्झौताको विकासका विषयमा गाइनगोबलाई जानकारी दिएका छन् ।
‘
जर्मन सरकारले गरेको परिपूरणको प्रस्ताव हल नभइसकेको विषय हो र नामिबिया सरकारले यसलाई स्वीकार गर्ने छैन,’ गाइनगोबले एक बयान जारी गरेर बताए । न्गाभिरुएलाई सुधारिएको अफरका विषयमा सम्झौता वार्ता जारी राख्न भनेको बयानमा उल्लेख गरिएको छ ।
जर्मनीले परिपूरण भन्ने शब्दावली पनि स्वीकार गर्न मानेको छैन । यहुदी नरसंहारपछि जर्मनीले इजरायलसँग गरेको सम्झौतामा पनि उक्त शब्द राखिएको थिएन ।
जर्मनीले आफ्ना उपनिवेशवादी अधिकारीहरूबाट ज्यादती भएको स्वीकार गरेको छ । केही अधिकारीहरूले यसलाई नरसंहारका रूपमा पनि पहिचान गरेका छन् ।
तर जर्मनीले सीधा परिपूरण तिर्न मानेको छैन । नामिबिया सरकारलाई लाखौं युरो बराबरको विकास सहायता उपलब्ध गराएको उसको कथन छ ।
नामिबियामा जर्मनीले सन् १८८४ देखि १९१५ सम्म शासन चलाएको थियो । त्यतिखेर देशलाई जर्मन साउथ वेस्ट अफ्रिका भनिन्थ्यो ।
त्यसपछि नामिबिया ७५ वर्षसम्म दक्षिण अफ्रिकाको शासनमा रह्यो र सन् १९९० मा बल्ल आएर स्वतन्त्र भयो ।