
शुक्रवार बिहानको भीषण पहिरोले सिन्धुपाल्चोक जुगल गाउँपालिकास्थित लिदी गाउँ पुर्दा ३८ जना बेपत्ता भएका छन्, ४ जनाको शव फेला परेको छ ।
निरन्तर परेको पानीसँगै खसेको पहिरोले लामा गाउँका ३७ घर पूर्ण रूपमा पुरिएका छन् । घटनास्थलमा अहिले प्रहरी, सेना तथा स्थानीय उद्धारमा खटिएका छन् ।
सिन्धुपाल्चोक सदरमुकाम चौताराबाट करीब एक दिनको पैदल यात्रापछि मात्रै पुगिने साबिक गोल्चे गाविसको लिदी गाउँ जिल्लाकै विकट गाउँको रूपमा परिचित छ ।

७२ घरपरिवार रहेको लिदी गाउँमा गत माघ १६ गते पहिलोपटक बिजुली बत्ती पुगेको थियो । यस गाउँले गत हिउँदमा मात्रै सडकसँग नाता जोड्न पाएको थियो ।
बिजुली बत्तीले ल्याएको उत्साह र सडक जोडिएसँगै छाएको उमंग लिदीवासीका लागि धेरै समय टिकेन ।
पानी रोकिएपछि बिहानको मिरमिरेमै आएको पहिरोले धरै वर्षपछि साकार भएको सडक र बिजुलीसँग घुलमिल हुने सपना चुडेर लग्यो भने पुरै लिदी गाउँ शोकमा डुबेको छ ।

हिउँदको समयमा मात्रै ट्रक र मोटरसाइकल आवतजावत हुने लिदी गाउँमा अहिलेसम्म नियमित यात्रुबाहक सवारीसाधन चल्न सकेको छैन ।
सोलार बत्ती हटाएर बिजुली बत्तीसँग राम्ररी परिचित हुन नपाउँदै यहाँका ३७ घर परिवारले ठूलो क्षति बेहोरेका छन् ।
निम्न आर्थिक अवस्था भएका यहाँका स्थानीयसहित वडा अध्यक्षले बस्ती जोखिममा रहेको भन्दै केही महिनादेखि पटक–पटक बस्ती स्थानान्तरणको माग राख्दै जिल्लादेखि प्रदेश हुँदै केन्द्रसम्म निवेदन दिएका थिए ।
केही हप्ताअघि मात्रै सोही ठाँउमा आएको पहिरोले चार घरमा क्षति पुर्याएको वडा अध्यक्ष प्रताप लामाले बताए । पहिरोले चार घरमा क्षति पुर्याएपछि बस्ती जोखिममा परेको भन्दै गाउँलेले स्थानान्तरणको माग राखेका थिए ।

निम्न आर्थिक अवस्था भएका सर्वसाधारणले आफ्नै पहलमा तत्काल बस्ती सार्न सक्ने सम्भावना थिएन । वडाध्यक्ष लामाले भावुक भावुक हुँदै भने, ‘जाने ठाउँ कतै नभएपछि पटक–पटक जोखिम भयो, बस्ती सारिदिनुपर्यो भन्दै जिल्ला हुँदै केन्द्रसम्म निवेदन दियौँ कसैले सुनेन र आज यो क्षति बेहोर्नुपर्यो ।
लिदीवासीले समयमै गराएको जानकारीका बेवास्ता गर्दा यहाँका स्थानीयले ठूलो प्राकृतिक विपत्तिको सामना गर्नु परेको लामाको गुनासो छ ।
पहिरो खसेको ठाँउमा हालसम्म कुनै पनि मेसेनरी औजारको प्रयोग नभएको भन्दै पहिरो जानुमा बलेफी ‘ए’ हाइड्रोले खनेको सुरुङप्रति पनि स्थानीयले आशंका गर्न थालेका छन् ।
केही वर्षअघि हाइड्रोले सुरुङ खन्न गरेको ब्लास्टिङका कारण पूरै गाउँ नै कम्पन हुँदा यसबाट क्षति हुने भन्दै स्थानीयले जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा ज्ञापनपत्र समेत बुझाएका थिए ।
तस्वीर : सभामुख अग्नि सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपाने ।