
बुटवलमा द्रुत गतिमा कोरोना जाँच गर्ने सेवा शुरू भएको छ ।
बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ३० मिनेटमै कोभिड–१९ को परीक्षण गर्न सकिने द्रुत परीक्षण सेवा शुक्रबारबाट शुरू गरिएको हो ।
अस्पतालको आकस्मिक कक्षमा भर्ना हुन आउने गम्भीर प्रकृतिका बिरामीमा भर्नापश्चात् कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि यस्तो सेवा शुरू गरेको हो ।
द्रुत परीक्षण सेवाको प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले मेसिनबाट आफ्नै स्वाब परीक्षण गरी सेवा शुरू गरे ।
नेपाल सरकार राष्ट्रिय क्षयरोग कार्यक्रमअन्तर्गत उपलब्ध जिन एक्सपर्ट मेसिनलाई अपडेट गरी अस्पतालमा एक्सपर्ट एक्सप्रेस सार्स कोभ–टु परीक्षण सेवा शुरू गरिएको प्रादेशिक अस्पतालले जनाएको छ ।

सामान्य पीसीआर परीक्षणको समयावधि ढिला हुँदा उपचार समस्या भएको गुनासो आइरहेका बेला यो मशिनबाट सहयोग मिल्ने उनले बताए ।
सेभ द चिल्ड्रेनका वरिष्ठ कार्यक्रम व्यवस्थापक निमबहादुर सिंहले यो विधि निकै प्रभावकारी र गुणस्तरीय भएको दाबी गरे ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले यस मशिनबाट कोरोनाभाइरसका शंकास्पद बिरामीको रिपोर्ट पोजेटिभ भए ३० मिनेट र नेगेटिभ भए ४५ मिनेटमा नै उपलब्ध हुने बताए ।
अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराईले अस्पतालमा धेरै सेवा वृद्धि गरिएको बताए ।
भौतिक संरचनादेखि सेवा विस्तारमा आफूले जोड दिएको उनले दाबी गरे ।
प्रदेशमा ५ मा कोरोनाभाइरसका जटिल र लक्षण देखिने बिरामी बढेपछि शर्तक र सुरक्षित रहनुपर्ने अवस्था छ ।