२५ जेठ २०८३, सोमबार

त्रिभुवन राजपथ अन्तर्गत नौबिसे सडकखण्डमा हटाइयो पहिरो, यातायात सञ्चालनमा

त्रिभुवन राजपथ अन्तर्गत नौबिसे सडकखण्डमा हटाइयो पहिरो, यातायात सञ्चालनमा

त्रिभुवन राजपथअन्तर्गत पर्ने नौबिसे सडकखण्डमा पहिरो पन्छाई आज अपराह्नबाट यातायात सञ्चालनमा आएको छ । बिहीबार राति गएको पहिरो आज पन्छाई अपराह्नबाट हेटौँडा–काठमाडौँतर्फ यातायात सञ्चालनमा ल्याइएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।

बिहीबार राति थाहा नगरपालिका–१२ स्थित ढुङ्गाखानीमा पहिरो गएको थियो । उक्त पहिरामा पुरिएर स्थानीयवासी ५४ वर्षीय काले मोक्तानको मृत्यु भएको थियो । मृतक मोक्तानको शव आज बिहान फेला परेको हो । ढुङ्गाखानी उत्खनन गर्दा मापदण्ड पूरा नगरीकन उत्खनन गरेकाले पहिरो गएको भन्दै स्थानीयवासीले अवरोध जनाएपछि यातायात सञ्चालनमा आउन सकेको थिएन ।

स्थानीयवासी, पीडित परिवार र माइनिङ एन्ड माइनिङ कन्स्ट्रक्सन मकवानपुर (ढुङ्गाखानी) का सञ्चालक जनकपुरको धनुषा निवासी रत्न ठाकुरबीच भएको वार्तामा मृतकका परिवारलाई क्षतिपूर्तिबापत रु १५ लाख र परिवारका एक सदस्यलाई रोजगारी दिने सहमति भएपछि पहिरो पन्छाई यातायत सञ्चालनमा ल्याइएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विकास तामाङले जानकारी दिए ।

पहिराले ढुङ्गाखानीमा रहेको एक स्काभेटर र तीन टिप्पर पनि पुरिएका थिए ।  

salt training

कमेन्ट गर्नुहोस्