भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस महामारीको नियन्त्रणका लागि आवश्यक सबै उपायलाई अवलम्बन गरिरहेको बताएका छन्।
सङ्क्रमणका कारण भारतको पनि अर्थतन्त्रमा प्रभाव परेको भन्दै उनले महामारीबाट प्रभावित अर्थतन्त्रलाई उकास्न सरकारले पूर्वाधार योजनामा १.४६ ट्रिलियन अमेरिकी डलरको घोषणा गरेको बताए।
भारतले महामारीबाट सिकेको मुख्य पाठ उत्पादन र विकासमा आत्मनिर्भर बन्ने र अन्तर्राष्ट्रिय कम्पनीहरूका लागि प्रमुख आपूर्तिको गन्तव्य बनाउने रहेको उनले बताए।
‘कोरोना महामारी एक ठूलो संकट हो, तर यसले भारतको आर्थिक प्रगति रोक्न सक्दैन,’ मोदीले बेलायती शासनबाट भारत स्वतन्त्रता पाएको दिन १७ औं शताब्दीको मुगल युगमा निर्माण गरिएको लाल किल्लामा सम्बोधनका क्रममा बताए।
अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् २०२० मा भारतीय अर्थतन्त्रमा ४.५ प्रतिशतको संकुचन प्रक्षेपण गरेको छ, जुन भारतीय इतिहासमा निकै खराब अवस्था हो। तर प्रधानमन्त्रीले सन् २०२१ मा देशको अर्थतन्त्रमा उछाल आउने अपेक्षा गरिएको उनले बताए।
महामारीको आर्थिक प्रभावलाई हटाउन सरकारले सात हजार पूर्वाधार परियोजनाहरू पहिचान गरेको प्रधानमन्त्री मोदीले बताए।