
काठमाडौं, २१ वैशाख — फ्रान्सको राष्ट्रपतीय निर्वाचनका उम्मेदवार इम्मानुएल म्याक्रों प्रतिस्पर्धी मरिन ले पेनसँग बुधवार बेलुका भएको अन्तिम चुनावी बहसमा बढी प्रभावशाली देखिएको एक सर्वेक्षणले देखाएको छ ।

दुई घण्टाभन्दा बढी चलेको बहसमा उम्मेदवारहरूले एकअर्कामाथि अनेकौं आक्रमण गरे । उनीहरूले आतंकवाद, अर्थतन्त्र र युरोपका विषयमा बहस गरे ।
फ्रान्सेली टिभी बीएफएमटीभीले बहस गराएको थियो र बहसपछिको सर्वेक्षणमा ल पेनभन्दा म्याक्रों प्रभावशाली देखिएको उसले पायो ।
टिभी हेर्ने ६३ प्रतिशत दर्शकले ती दुईमध्ये म्याक्रों नै बढी विश्वासिलो लागेको बताए ।
ले पेनले आफ्ना प्रतिस्पर्धीलाई उनको आर्थिक विचार र सरकारमा रहँदाको पृष्ठभूमिलाई लिएर आक्रमण गरिन् ।
उनले म्याक्रों ‘बर्बर विश्वप्यापीकरणको उम्मेदवार’ र उनको फ्रान्ससम्बन्धी धारणा ‘एउटा व्यापारिक कक्ष जहाँ सबेजना एकअर्कासित स्वार्थका लागि झगडा गर्नेखालको’ भनी आरोप लगाइन् ।
यसको बदलामा म्याक्रोंले नेसनल फ्रन्टकी नेता ले पेनलाई खुल्लमखुल्ला झुट बोलेको, केही ठोस प्रस्ताव नगरेको र जनताको चिन्तालाई बढाइचढाइ गरेको आरोप लगाए ।
राष्ट्रपतीय निर्वाचनको दोस्रो चरण आइतवार सम्पन्न हुनेछ ।
बीबीसीबाट