
चीनको दक्षिणी भागमा रहेको एक चेन रेस्टुराँले आफ्नो प्रांगणमा प्रवेश गर्नुअघि ग्राहकहरूलाई शरीरको तौल लिन लगाएकोमा माफी मागेको छ ।
चीनमा अहिले खाना खेर फाल्ने काम घटाउनका लागि चलेको अभियान अन्तर्गत रेस्टुराँले उक्त कदम चालेको थियो ।
हुनानमा लोकप्रिय चेन रेस्टुराँ चुइयान फ्राइड बीफले ग्राहकहरूलाई शरीरको तौल लिएर व्यक्तिगत सूचना दिन लगाएको थियो । तौल लिएपछि रेस्टुराँले ग्राहकको शारीरिक बनोटका आधारमा खानेकुरा सिफारिश गर्ने थियो ।
व्यक्तिको तौलका आधारमा र खानाको क्यालोरी कन्टेन्टका आधारमा ग्राहकहरूलाई विभिन्न किसिमका परिकार मगाउन सिफारिश गरिएको थियो । उदाहरणका लागि, ४० किलोभन्दा कम तौल भएकी महिलालाई बीफ डिश र माछाको टाउको सिफारिश गरिन्थ्यो भने ८० किलोभन्दा बढी तौल भएका पुरुषलाई ब्रेज्ड पोर्क बेली सिफारिश गरिन्थ्यो ।
खाना खान आएका मानिसलाई प्लेटमा केही पनि बाँकी नराख्न अनि मितव्ययी बन्न उत्प्रेरित गरिएको थियो ।
यसरी मोटो मानिसको बेइज्जती गरेको भनी अन्लाइनमा आरोप आउन थालेपछि चुइयान फ्राइड बीफले शनिवार एक बयान जारी गरेर खाना खेर फाल्ने कामलाई घटाउन आफूले प्रयास गरेको बतायो । ग्राहकहरूलाई तौल लिन बाध्य नबनाइएको र विवाद उठेकोमा गहिरो पश्चात्ताप रहेको उसले जनायो । इच्छुक ग्राहकले तौल लिऊन् भनी वेइङ मशिन चाहिँ राखिरहने उसको भनाइ छ ।
चीनका राष्ट्रपति सी चिनफिङले खाना खेर नफाल्ने अभियान अपरेसन एम्प्टी प्लेट शुरू गरेपछि विभिन्न कदमहरू चालिएका छन् ।