काठमाडौँ, २१ वैशाख– राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख ओनसरी घर्तीका बीचमा मुलुकमा उत्पन्न पछिल्लो राजनीतिक गतिविधिका बारेमा कुराकानी भएको छ ।
राष्ट्रपति भण्डारीलाई भेट गर्न सभामुख घर्ती आज दिउँसो शीतलनिवास पुगेकी थिइन् । आफ्नै कार्यकक्ष सिंहदरबारमा प्रमुख तीन दल नेपाली काँग्रेस, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेतासँग छलफल गरी सभामुख घर्ती राष्ट्रपति भण्डारीलाई भेट गर्न शीतलनिवास पुगेकी हुन् ।
व्यवस्थापिका संसदमा प्रस्तुत संविधान संशोधन प्रस्ताव, प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका–संसद् सचिवालयमा दर्ता भएको महाअभियोग प्रस्तावका बाँकी प्रक्रिया र स्थानीय तहको निर्वाचनका विषयमा उनीहरुका बीचमा कुराकानी भएको सभामुख घर्तीका सञ्चार सल्लाहकार बबिन शर्माले जानकारी दिए ।
‘महाअभियोगको विषयमा यसअघि सदनमा स्थापित नजिरका आधारमा अगाडि बढ्ने र दलका सहमतिका आधारमा संविधान संशोधनमाथि छलफल स्थगित भएको सभामुखले राष्ट्रपतिलाई भेटमा जानकारी गराउनुभयो,’ सल्लाहकार शर्माले भने ।