२० असार २०८३, शनिबार

धौवादीमा फलाम उत्पादन हुने

भदौ ७, २०७७
धौवादीमा फलाम उत्पादन हुने
तस्वीर सौजन्य : गोरखापत्र दैनिक

नवलपुरको धौवादी फलाम खानीबाट औद्योगिक रूपमा फलाम उत्पादन गर्न सकिने भएको छ । सो खानीबाट फलामको उत्पादनबारे चीनमा भइरहेको परीक्षणले फलामको उत्पादन गर्न सकिने प्रमाणित भएको खानी तथा भूगर्भ विभागले जनाएको छ ।

चीनको छेन्दुस्थित चाइना भूगर्भ सर्भे सेन्टरमा भइरहेको ‘मेटलर्जिकल’ परीक्षणले नवलपुरको धौवादी फलाम खानीबाट औद्योगिक रूपमा फलाम उत्पादन गर्न सकिने प्रमाणित भएको खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले जानकारी दिनुभयो । विभागले फलामको औद्योगिक उत्पादनबारे परीक्षण गर्न गत वर्ष नै एक हजार तीन सय किलो फलामको धाउ (कच्चा पदार्थ) चीन पठाएको थियो ।

उहाँले चीनको सेन्टरले फलाम उत्पादनबारे गरिएको सफल परीक्षणको भिडियो र तस्बिरका साथै प्रारम्भिक प्रतिवेदन पठाएको छ जसले फलामको उत्पादन गर्न सकिने प्रमाणित गर्दछ । सो क्षेत्रबाट प्राप्त भएको धाउमा फलामको मात्रा के–कति छ भन्ने यकिन गर्न अहिले थप रासायनिक परीक्षण भइरहेको छ भन्नुभयो । अबको दुई हप्ताभित्र सबै परीक्षणबारे अन्तिम प्रतिवेदन आइपुग्ने उनले बताए ।

धौवादी फलाम कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णदेव झाले धौवादी फलाम खानीबाट फलाम उत्पादनबारे चीनमा भइरहेको परीक्षणले त्यहाँबाट फलामको उत्पादन गर्न सकिन्छ भन्ने तथ्य यकिन भएको स्पष्ट पारे । परीक्षणको अन्तिम प्रतिवेदन आइसकेपछि सो क्षेत्रमा फलामको व्यावसायिक उत्पादन हुने उनको भनाइ छ ।

पूर्व–पश्चिम राजमार्गको कावासोतीदेखि करिब २० किलोमिटर उत्तरको दूरीमा रहेको गण्डकी प्रदेश नवलपुर जिल्ला होप्सेकोट गाउँपालिका अन्तर्गतको पश्चिममा नाम्जाकोटदेखि पूर्वमा धौवादी क्षेत्रसम्म करिब १६० वर्गकिलोमिटर क्षेत्रमा फैलिएको १० किलोमिटर लम्बाइ, २५ देखि ३० मिटर मोटाइ भएको फलाम खानीको भण्डार अन्वेषणमा भेटिएको हो ।

खानी तथा भूगर्भ विभागले आर्थिक वर्ष २०६६÷६७ मा सो क्षेत्रमा गरेको खनिज अन्वेषणका क्रममा सो फलाम खानी पत्ता लागेको थियो । यसअघि नै सो क्षेत्रमा विस्तृत भौगर्भिक अध्ययन तथा भौगर्भिक सर्भे (टोपोलोजिकल सर्भे) सम्पन्न भइसकेको छ ।

त्यसैगरी अन्वेषणका क्रममा पत्ता लागेको फलाम खानी (हेमाटाई बैन्ड) हेर्न ५० मिटर ‘ट्रेन्च’ खनिएको छ भने १०५ मिटर ‘ड्रिलिङ’ कार्य सम्पन्न भइसकेको प्रमुख कार्यकारी अधिकृत झाले जानकारी दिनुभयो । सो क्षेत्रको ‘म्यापिङ’ र ‘स्याम्पलिङ’ को कामसमेत सम्पन्न भइसकेको छ ।

प्रमुख कार्यकारी अधिकृत कृष्णदेव झाका अनुसार अहिले सम्मको अध्ययनबाट भौगर्भिक रूपमा सय मिलियन टन फलामको भण्डारण छ भन्ने कुरा प्रमाणित भइसकेको छ । दैनिक आठ सयदेखि १२ सय मेट्रिक टन फलाम उत्पादन गर्न सकिने प्रारम्भिक अनुमान गरिएको छ । फलाम उत्पादनमा सरकारले उच्च प्राथमिकता दिएको छ ।  गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले खबर लेखेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्